मोहन वैद्य माओवादीमा फेरि शुरु भयो एकताको बहस....

Posted on: July 18, 2017 | views: 408
काठमाडौं।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फेरि पार्टी एकताको बहस शुरु भएको छ । असार २५ गतेदेखि एक हप्तासम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी एकताको बहस शुरु भएको हो । 
वैठकको निर्णय सार्वजनिक गर्न अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा जनयुद्ध र विभिन्न जनआन्दोलनले धक्का खाएको भन्दै पार्टी एकताका लागि आह्वान गर्ने निर्णय लिइएको उल्लेख छ । 
‘दशवर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिइएको’  विज्ञप्तिमा उल्लेख छ । क्रान्तिकारी माओवादीले एकताका ६ वटा आधारहरु तय गरेको जनाएका छन् । 
मालेमावाद अवलम्बन गर्ने, माक्र्सवाद– लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने, संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रीपरिषद्मा नरहने र जनवादी–केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आव्हान गर्ने निर्णय लिइएको जनाइएको छ । यसअघि वैद्य माओवादीमा पार्टी एकताको बहस चुलिएपछि रामबहादुर थापा बादलसहितको समूह नेकपा माओवादी केन्द्रसँगको एकतामा सहमाति भएको थियो । 
सोमवारदेखि शुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वैद्य माओवादी पनि चुनावमा आएकोले पार्टी एकतामा जाने संकेत गरेका थिए । ‘वैद्यजीहरु पनि चुनावमा आउनु भएको छ, अब किन छुट्टाछुट्टै चुनाव लड्ने रु’ भन्ने प्रचण्डको भनाइ थियो ।