उच्च अदालतको आदेशपछि दशरचन्दका मेयर थापा आजदेखि कामकाजमा

Posted on: July 16, 2017 | views: 37

काठमाण्डौ । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्र सिंह थापा आईतवारदेखि कामकाजमा खटिएका छन् । बिहीबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले प्रमुखको रुपमा कामकारबाही नगर्न दिएको अन्तरिम आदेश खारेज गरी  कामकाज गर्न अर्को आदेश दिएपछि थापा कामकाजमा फिर्ता भएका हुन ।

यसअघि असार १९ गते मतगणना परिणाम बदर गरी दोर्होयाई पुनः मतगणना गराई पाउँ भनी राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालले असार २१ गते काम नगर्न र नगराउन दशरथ चन्द नगरपालिकाका प्रमुख थापाका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

उच्च अदालतले बिहीबार वादी र प्रतिवादीहरुलाई सुनुवाइका लागि बोलाएको थियो । तर यथेष्ट प्रमाण नजुटेकोले भन्दै उच्च अदालतले पुनः मतगणना गर्ने आदेश तत्काल दिन नसकिने जनाएको छ । राप्रपाका जोशी ६२ मतअन्तरले कांग्रेसका थापासँग पराजित भएका थिए ।यसैविच शनिवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले पत्रकार सम्मेलन गर्दै सस्तो लोकप्रियताका लागी राप्रपाले उच्च अदालतमा रिट हालेको जनाएको छ ।

नेपाली कांग्रेसका महासमिती सदस्य चतुरबहादुर चन्दले राप्रपाले सस्तो लोकप्रियताका लागी राप्रपाले उच्च अदालतमा रिट हालेको आरोप लगाए । ‘मतगणनाका क्रममा कांग्रेस पछि पर्दा राप्रपालाई ठिकै हुने तर कांगे्रसले विजयी हुदा किन आपत्ती ?’ उनले भने ।  जनताले दिएको मतको राप्रपाले अबमुल्यन गरेको भन्दै उनले कांग्रेस सधै जनमतको कदर गर्ने बताए । लोकतान्त्रिक अभ्यासमा हारजित स्वीकार्न सिक्नुपर्ने भन्दै चन्दले बिना प्रमाण कांग्रेसलाई धाँधली भएको आरोप सस्तो लोकप्रियताका लागी गरेको बताए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दैै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले विना प्रमाण हालेको रिटलाई उच्च अदालतले खारेज गरेकोमा उच्च अदालतको पछिल्लो आदेशको उच्च सम्मान गरेको बताए । आफु सधै दशरथचन्द नगरपालिकालाई नमुना बनाउन आफ्नो लक्ष्य रहेको समेत उनले बताए ।