साउनभरी मतदाता संकलन गर्न काँग्रेस माओवादीको माग

Posted on: July 14, 2017 | views: 199

काठमाडौं ।

नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्रले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हुने मतदाता नामावली संकलन श्रावण महिना भरी सञ्चालन गर्न माग गरेका छन् ।


काँग्रेस र माओवादी केन्द्रका नेताहरुले आज प्रमुख निर्वाचन आयु्क्त डा। अयोधीप्रसाद यादव र आयुक्तहरुलाई छुट्टा छुट्टै भेट गरी साउन १ गतेदेखि १५ गतेसम्मेको सट्टा साउन महिनाभर नाम संकलन गर्न माग गर्नुभएको हो । 

भेटपछि नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले मध्यबर्षायामा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सवै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि पार्टीको तर्फबाट नामावली सङकलन ७ सय ४४ स्थानबाटै हुने व्यवस्था मिलाउन पार्टीका तर्फबाट आयोगलाई सुझाव दिएको बताउनुभयो ।


आयोगका कामु सचिव महेश्वर न्यौपानेले हाल नामावली संकलनका लागि स्थानीय तहमा जान सकिने अवस्था नरहेकाले जिल्ला सदरमुकामबाटै नामावली संकलन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरिएको बताउनु भयो । 

आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानु पर्ने छ ।हाल एक करोड ४२ लाख ५ सय ४८  मतदाता रहेको आयोगले जनाएको छ ।