समस्याको समाधान प्रहरी सङ्गठन भित्रैबाट खोज्नु पर्ने : गृहमन्त्री शर्मा

Posted on: June 09, 2017 | views: 196

काठमाडौं । नयाँ गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिएका छन ।


प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको बताए ।


सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताए । अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उहाँले उल्लेख गरे ।


संविधानअनुसार प्रहरीको प्रादेशिक र सङ्घीय संरचनाबारे सरकारको ध्यान गएको उल्ल्ेख गर्दै उहाँले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार हुनुपर्ने बताए ।