अझै अन्योलमा प्रधानन्यायाधीश सिफारिस

Posted on: June 05, 2017 | views: 230

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाउने दिन नजिकिँदै जाँदासमेत भावी प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन । न्याय परिषद्को बैठक बस्न नसक्दा भावी प्रधानन्यायाधीश सिफारिस अन्योलमा परेको हो ।

कहिले बस्छ न्याय परिषद्को बैठक ?
प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुने व्यवस्था छ । न्याय परिषद् ऐनअनुसार प्रधानन्यायाधीशको अध्यक्षतामा पाँच सदस्यीय समिति रहने प्रावधान छ । कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त एकजना कानुनविद् र नेपाल बार एसोसिएसनका एकजना सदस्य रहने प्रावधान छ ।

न्यायपरिषद्को बैठकका सदस्यमध्ये बहुमत सदस्य अनुपस्थित रहने भएपछि बैठक नराखिएको सर्वोच्च स्रोतले जानकारी दियो । सोही कारण अहिलेसम्म प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को बैठकको मिति तोक्न नसकेकी हुन् । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअगावै योग्य न्यायाधीशको नाम संवैधानिक परिषद्मा लेखी पठाउने न्यायिक परम्परा छ । तर, यसपटक सो परम्परा लागू भएन ।

न्याय परिषद् ऐनको दफा ३५ को उपदफा ३ मा परिषद् सचिवले परिषद् बैठक बस्ने मिति र समय तोकी बैठकमा छलफल हुने विषय सूचीसहितको सूचना बैठक बस्ने समयभन्दा साधारणतया ४८ घन्टाअगावै सबै सदस्यले पाउने गरी पठाउनुपर्ने व्यवस्था छ । तर, बैठक बस्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको सर्वोच्च स्रोतले जानकारी दियो ।

बुधबार अवकाश पाउँदै प्रधानन्यायाधीश
बुधबार (२४ जेठ) मा प्रधानन्यायाधीश कार्कीले अनिवार्य अवकाश पाउँदै छिन् । उनले अवकाश पाउनुअघिसम्म भावी प्रधानन्यायाधीशको नाम सिफारिस नहुने भएको छ । कार्कीपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली छन् । कार्कीले अवकाश पाएपछि रोलक्रमअनुसार पराजुली कामु प्रधानन्यायाधीश बन्नेछन् । तर, उनले न्याय परिषद्मा आफ्नो नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने कानुनी प्रावधान छैन ।