भोट दिएपछि रुकुमेलीहरु घर खर्च चलाउनकै लागि नोटको खोजिमा भारत पस्न थाले

Posted on: June 02, 2017 | views: 211

रुकुम ।


रुकुमका पश्चिमी क्षेत्रबाट रोजगारको लागि भारतका बिभिन्न ठाउँहरुमा जाने क्रम शुरु भएको छ । स्थानीय तहको निर्वाचनमा भोट हाल्न घर फर्केका उनीहरु चुनाव सकिए लगत्तै पुनः भारत जान थालेका हुन् । 

पश्चिम रुकुमका चौरजहारी, सानीभेरी र त्रिवेणी लगायतका क्षेत्रबाट भारत जानेको संख्या बढी रहेको छ । आफ्नो जीवन धान्न र घरखर्च जुटाउनका लागि भारतका विभिन्न ठाँउमा जानै पर्ने वाध्यता रहेको चौरजहारी नगरपालिका १३ का नरेन्द्र ओलीले बताए । चुनावपछि गाँउलेहरु दिनदिनै कालापार जानथालेपछि गाउँ सुनसान हुन थालेको छ ।

‘स्थानीय सरकार निर्माण भएपछि रोजगारी आउँछ कि भन्ने आशामा रहेको थियो, तत्काल त्यस्तो संभावना देखिएन’ ओलीले भने, ‘नेताले बेरोजगारमुक्त गाउँ बनाउने भनेर घोषणा त निर्बाचन अघि गरेका थिए तर भनेजस्तो जनताले कहाँबाट सेवासुबिधा पाउनु ।’ रुकुमका अधिकांस स्थानीयहरु कामको खोजीमा वर्षेनी भारत जाने गरेका छन । भारत जानेमा बिद्यार्थी उमेरका देखि बृद्धअवस्थामा मानिसहरु पनि हुने गरेका छन । घरको आर्थिक अबस्था कमजोर र गाउँ घरमा अन्य कुनै काम नहुँदा युवाहरु पैसा कमाउन भारत जाने गरेका हुन । 

आर्थिक अवस्था सबल भएका केहि बिद्यार्थीहरु सदरमुकाम खलंगा वा अन्य शहर पढाईकै सिलसिला बिताउने गरेपनि अन्य बिद्यार्थीहरु कामका लागि भारत जाने र परिक्षाको बेला मात्र घर फर्किने गरेका छन । त्रिवेणी गाँउपालिकाकी कमल खड्काले गाउँका धेरै युवाहरु चुनाबपछि पैसा कमाउन भन्दै कामको खोजीमा भारत गईसकेका छन् भने कोही जाने तयारीमा छन् ।

उनका अनुसार भारत गएकाहरु अघिल्ला बर्षहरुमा दशैतिहारको बेला आउने गरेका थिए भने यसपटक चुनाबका लागि बिचमै आएका हुन । गाउँका युवाहरु घर छोडेर हिडेपछि गाउँको घरधन्दा महिला र बुढापाकाले स्याहादै आएका छन ।  आफ्नै जिल्लामा काम गर्ने रोजगारिका अबसरहरु नपाउदा रुकुमेली धेरै युवाहरु भारतको कालिपहाड, गुवा जस्ता ठाउँमा जान्छन ।

 त्रिबेणी गाउँपालिका ९ का दत्तबहादुर पुन बर्षेनी भारत जाने गरका छन । ‘गाउँका साथीभाईले चुनाबमा भोट हाल्न आउनु पर्यो भनेर हैरान परेपछि आईएको हो, अब फेरी जाने तयारी छ’ पुनले भने, ‘केहि पैसा कमाएर अब दशैतिर सम्म आईन्छ होला ।’ घरखर्च तथा बालबच्चाहरुलाई पढाउने खर्च जुटाउन पनि भारत नै जानुपर्ने बाध्यता जानुपर्ने बाध्यता रुकुमेलीहरुलाई छ । सानो पैसाले पनि भारत जान सकिने भएकोले आफु भारततिर जानेआउने गर्ने उनीहरुको भनाई रहेको छ । ‘अन्य देशहरुमा जानलाई पैसा पनि बढी लाग्ने, बिदेश गएका रुकुमेलीहरुको पनि कथाबेथा नराम्रो सुनाउने र घरमा समस्या पर्दा जाँदा आउदा पनि सजिलो हुने गरेका कारण प्राय यहाँका मान्छेहरु भारत नै जान्छ’ चौरजहारी नगरपलिका ७ का कबिराम शर्माले भने, ‘जति सुन्दर सपना वोकेर काठमान्डौँ को त्रिभुवन विमान स्थलवाट जुरुक्क उड्दा हुन्छ, त्यो सपना सात समुद्र पारी भुमीको देशमा पुग्दा विस्तारै आईलाउने गर्दछन । त्यहाँ पुर्याएपछि पहिलेको सहमति अनुसारको तलव सुबिधा नदिनु,अत्यन्तै श्रम शोषन र दुरव्यवहार गर्नाले बिदेशीयका निरास बनेर फर्कनु परेकोले बरु भारमा राम्रो लाग्छ ।’