अछामका सबै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on: May 31, 2017 | views: 142

अछाम ।

दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि अछाम जिल्लाका दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी दशओटा तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निवार्वचन कार्यालयले जनाएको छ ।

मंगलसैन नगरपालिकाको लागि निर्वाचन अधिकृतको कार्यालय मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै हुने छ भने अन्य ९ तहमा निर्वाचन अधिकृतको कार्यालय खोलि आवश्यक तयारीको काम अघि बढाईएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनु भयो ।

मंगलसैन नगरपालिकाको लागि मूख्य निर्वाचन अधिकृतको समेत जिम्मेवारी पाउनु भएका जिल्ला न्यायधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनी रहनुभएको छ । यस्तै साँफेबगर नगरपालिकामा चन्द्रप्रसाद फुयाँल, कमलबजार नगारपालिकामा कृष्णप्रसाद आचार्य तथा पञ्चदेवल विनायक नगरपालिकामा हिरण्ड भण्डारी निर्वाचन अधिकृतको रुपमा खटिनुभएको छ ।

गाउँ पालिका अन्तर्गत चौरपार्टी गाउँपालिकामा प्रेम न्यौपाने, मेल्लेख गाउँपालिकामा शिवराम गेलाल, रामारोशन गाउँपालिकामा दिलिप शाही, बान्नीगढी जयगढ गाउँपालिकामा किशनराज चिलुवाल, तुर्माखाँद गाउँपालिकामा तर्कराज भट्ट र ढकारी गाउँपालिकामा अछामका स्थानीय विकास अधिकारी तोयनारायण सुवेदी रहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि आवश्यक काम तथा तयारी अघि बढाईएको छ । अब दोस्रो चरणको निर्वाचन असार ९ हुँदै १४ गतेका लागि सरेपनि आफ्नो कार्यालयलाई कुनै आधिकारी जानकारी नआएको र पूर्व निर्धारित कार्य योजना अनुसार कार्यालय स्थापना भएका निर्वाचन अधिकारी सापकोटाको भनाई छ ।