गोरखामा किरियापुत्रीदेखि सुत्केरीसम्म मतदानमा सहभागी, ८० प्रतिशत मत खस्यो

Posted on: May 14, 2017 | views: 62

गोरखा ।

आज भएको स्थानीय तहको निर्वाचनमा किरियापुत्रीदेखि सुत्केरीसम्मले मतदान गरेका छन् । गोरखाको एघार स्थानीय तहका २६० मतदान केन्द्रमा बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान प्रक्रिया चलेको थियो । हातमा मतपत्र बोकेर बिहानै देखि मतदाताहरु मतदान केन्द्रमा आइपुगेका थिए । आफूले मत दिएर जनप्रतिनिधि चुन्नका लागि मतदाताहरु उत्साहित र हतार देखिन्थे ।

गोरखा नगरपालिका १२ दशकिलोका किरियापुत्री केशबहादुर कुमाल र श्रीमती राममाया कुमाल पनि मतदानमा सहभागी भएका छन् । दशकिलोस्थित महेन्द्र माबि मतदान केन्द्रमा पुगेर कुमाल दम्पतीले मतदान गरेका हुन् । भाउजु मिश्रीमाया कुमालको निधन भएपछि कुमाल परिवार बिगत तीन दिनदेखि किरिया बस्दै आएका छन् । 

यस्तै पालुङटार नगरपालिका १० मिरकोटका किरियापुत्री कृष्णबहादुर बिक, परशुराम बिक, लिला बिक, देबीमाया बिक र गंगाकुमारी बिकले मिरकोट माबि केन्द्रबाट मतदान गरेका छन् । बाबु ध्वजबहादुर बिकको ७३ बर्षको उमेरमा चार दिनअघि निधन भएपछि छोराहरु र बुहारीहरु किरिया बस्दै आएको स्थानीयबासी टेकबहादुर बिकले जानकारी दिनुभयो ।

सोही मतदान केन्द्रमा चार दिनकी सुत्केरी गंगा संग्रौला नहर्कीले पनि मतदान गरेको स्थानीयबासी दिलबहादुर थापाले जानकारी दिनुभयो । निर्वाचनमा जिल्लाभर छिटपुट घटना बाहेक शान्तिपूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको भनाइ छ ।

मतपेटिकाहरु नगरपालिका र गाउँपालिकाको केन्द्रमा ल्याउने तयारी भइरहेको छ । गोरखा नगरपालिका भित्रका १४ वडाका बिभिन्न केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । यस्तै पालुङटार नगरपालिकाभित्रका दश वडाका बिभिन्न केन्द्रका मतपेटिका पालुङटारस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको छ । 

उत्तरी गोरखाका बिभिन्न ३१ मतदान केन्द्रका मतपेटिकाहरु सम्बन्धित गाउँपालिकाको केन्द्र पु¥याउन सोमबार हेलिकोप्टर पठाउने तयारी गरिएको छ । वडाबाट गाउँपालिकाको केन्द्र पुग्न करिब तीन दिन हिड्नुपर्ने भएपछि हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्न लागिएको प्रजिअ बस्नेतको भनाइ छ । सडक पहुँच पुगेका क्षेत्रमा बस, जीप, ट्याक्टरबाट मतपेटिका गाउँपालिकास्थित निर्वाचत अधिकृतको कार्यालयमा पु¥याउने काम सुरु भएको छ । सबै केन्द्रका मतपेटिका नगरपालिकाको केन्द्र र गाउँपालिकाको केन्द्रमा ल्याएपछि मतगणनाको काम सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैबीच जिल्लास्थित निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोखरेलका अनुसार गोरखामा ८० प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा एक लाख ६९ हजार ४६ जना मतदाता थिए । गोरखामा बिभिन्न दश वटा राजनीतिक दलबाट १९०७ जना उमेद्वारहरु नगरको प्रमुख र उपप्रमुख, गाउँपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्षलगायत पदका लागि निर्वाचन लडेका छन् । मतपेटिका नगर र गाउँपालिकाको केन्द्र ल्याएपछि जनताहरु उत्साहित हुँदै केन्द्रसम्म पुगेका छन् ।