गोरखा ।
भोली हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गोरखाका एघार वटा स्थानीय तहमा मतदान स्थल ब्यबस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
२६० वटा मतदान स्थलमा मतदान अधिकृतसहित कर्मचारीहरु, मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु, सुरक्षाकर्मीहरु पुगिसकेका छन् ।
मतदान स्थल वरपर सुरक्षा ब्यबस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरीहरु सुरक्षाका लागि खटाइएको भएपनि नेपाली सेना सबैभन्दा पछिल्लो घेरामा रहनेछ ।
मतदान स्थल, केन्द्र पुगेर निर्वाचन अधिकृत तथा कर्मचारीहरुले मतदाता परिचय पत्र बितरणलाई तीब्रता दिएका छन् । आजसम्म सबै मतदाता परिचय पत्र बितरण गर्ने कार्यक्रम छ ।
दुई वटा नगरपालिका र नौ वटा गाउँपालिका भित्रका सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो ।
गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् । मतदानका लागि मतदाताहरु गाउँ फर्केका छन् ।