गोरखामा मतपेटिका बोक्न हेलिकोप्टर माग

Posted on: May 12, 2017 | views: 215

गोरखा ।

गोरखाका हिमाली भेगमा पर्ने गाउँपालिकाका बिभिन्न वडामा रहेका मतदान स्थलबाट गाउँपालिकाको केन्द्र (निर्वाचन अधिकृतको कार्यालय) सम्म मतपेटिका ढुवानी गर्न हेलिकोप्टर माग गरिएको छ । 

सडक पहुँच नभएका चुमनुब्री र धार्चे गाउँपालिकाका बिभिन्न वडाका केन्द्रबाट मतपेटिका मतगणना स्थलसम्म ढुवानी गर्न तीन दिनभन्दा बढी लाग्ने भएपछि हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था आएको हो । यसअघिका निर्वाचनमा पनि मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिँदै आइएको थियो ।

मतपेटिका ढुवानीका लागि हेलिकोप्टर ब्यबस्थाका गरिदिन निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलसंग अनुरोध गरिसकिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिनुभयो । सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पारका मतदान केन्द्रबाट चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवाससम्म मान्छेले मतपेटिका बोकेर ल्याउने हो भने कम्तिमा तीन दिन लाग्छ । 

निर्वाचनका लागि आवश्यक सामग्रीहरु, निर्वाचन अधिकृतलगायत कर्मचारी र सुरक्षा टोली छ दिनसम्म हिडेर मतदान केन्द्र पुगिसकेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । निर्वाचनलाई आवश्यक सामग्री ढुवानी गर्न क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालय, निर्वाचन आयोगमा हेलिकोप्टर माग गरेपनि नपाएको भन्दै प्रजिअ बस्नेतले मतपेटिका ढुवानीका लागि जसरी पनि हेलिकोप्टरको ब्यबस्था हुनुपर्नेमा जोड दिनुभयो ।

चुमनुब्री र धार्चेका ३१ वटा मतदान केन्द्रमा सडक सुविधा छैन । गोरखाभन्दा सुगम, सडक सुविधा पुगेका अन्य जिल्लामा मतपेटिका ढुवानी गर्न हेलिकोप्टर दिइएको तर गोरखामा त्यो सेवाबाट बञ्चित गरिएकोमा सांसद कमला पन्तले आयोगको ध्यानाकर्षण गराउनुभयो । 

गोरखाका एघार स्थानीय तहमा बैशाख ३१ गते हुने निर्वाचनका लागि सुरक्षा ब्यबस्था कडा बनाइएको छ । सहरमा बसोबास गर्दै आएका मतदाता गाउँ फर्केका छन् ।