रुकुममा दैनिकजसो झडप, आज पनि ३ राउण्ड हवाई फायर

Posted on: May 10, 2017 | views: 209

रुकुम ।

रुकुममा स्थानीय चुनावलाई लिएर दलका कार्यकर्ताहरु विचको झपडपलाई नियन्त्रणमा लिन प्रहरीले २ दिनमा ५ राउण्ड हवाई फायर गरेको छ । 

मंगलबार सानीभेरी गाउँपालीका १ चाईनाबगरमा भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताविचको झडप नियन्त्रण गर्न २ राउण्ड हवाई फायर गरेको प्रहरीले आज मुसिकोट नगरपालीका ७ साँखमा एमाले र माओवादी कार्यकर्ता विचको झडप नियन्त्रण गर्न ३ राउण्ड हवाई फायर गरेको छ ।

आज भएको झडप नियन्त्रणमा लिन एस.एल.आर. राईफलबाट २ र थ्रि नट थ्रि राईफलबाट १ राउण्ड हवाई फायरिङ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा चुनावलाई लिएर दलका कार्यकर्ता विचमा झडपका घटना बढ्न थालेपछि प्रहरी पनि कडा रुपमा प्रस्तुत हुन थालेको छ ।

बुधबार(आज) मुसिकोटको साँख माथी गाउँमा भएको एमाले, माओवादी कार्यकर्ता विचको झडपमा परी २ जना प्रहरी र नेकपा एमालेका १ कार्यकर्ता गरी ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा प्रहरी सहायक निरिक्षक सोमवहादुर वसेल, म्यादी प्रहरी गोपाल बटाला र एमालेका कार्यकर्ता ४८ वर्षिय सर्विर परियार रहेको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक थम्मनवहदाुर रजालीले जानकारी दिए । उनका अनुसार २ जना प्रहरीलाई खुट्टामा सामान्य चोट लागेको छ भने एमाले कार्यकर्ता परियारलाई टाउँकामा चोट लागेको छ ।

 उनको सदरमुकाममा रहेको एक स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । आफ्ना कार्यकर्ता चढेको गाडीलाई माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडपको अवस्था सृजना भएको एमालेको दाबी छ भने आफ्ना कार्यकर्तामाथि एमाले कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको माओवादीले दाबी गरेको छ ।

चुनावी सभामा सहभागी हुन आएका मुसिकोट नगर मेयरका उम्मेदवार विमलकुमार पुनलाई सदरमुकाम पठाएर फर्किने क्रममा माओवादी कार्यकर्ताले आफ्ना कार्यकर्ता चढेको गाडीलाई रोकेको एमालेका वडा अध्यक्षका उम्मेदवार थलवहादुर ओलीले जानकारी दिए । माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार हिमवहादुर पाण्डेले भने एमालेको कार्यक्रम सकिएपछि नजिकै रहेका आफ्ना कार्यकर्तालाई एमालेका कार्यकर्ताले ढुंगा प्रहार गरेको बताएका छन् ।