स्थानीय तह निर्वाचनको तयारी सकियो-प्रमुख निर्वाचन आयुक्त

Posted on: May 01, 2017 | views: 220

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही बैशाख ३१ गते हुने स्थानिय निकाय निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।


मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको भन्दै यादवले निर्वाचनको सबै तयारि सकिएको बताएका हुन् ।


स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग आइतबार आयोग परिसरमा भएको अन्तक्र्रियामा उनले भन्नुभयो ‘ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनका सम्पूर्ण कार्यक्रम लिएर आयोग नगरपालिका र गाउँपालिकामा पुगिसकेको छ।’


‘स्थानीय सरकारको अवधारणामा हुन लागेको निर्वाचनले स्थानीय तहमै कानुन निर्माण गर्नेसम्मको अधिकार स्थापित गर्ने भएकाले स्थानीय तह निर्वाचन अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहनेछ’, प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो।


स्थानीय तहको निर्वाचनमा मुलुकका ४० जिल्लाका १४३ जना तेस्रो लिङ्गीले मतदानको अधिकार प्राप्त गरेको आयोगले जनाएको छ ।


निर्वाचन आयोगले विगत तीन वर्षदेखि लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो।