उपत्यकामा जताततै ट्राफिक जामैजाम, यी हुन् अत्याधिक जाम हुने स्थान

Posted on: February 04, 2017 | views: 463

काठमाडौं, माघ २२ । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक कम्तीमा ५७ हजार सवारी गुड्छन् ।

यी हुन् धेरै ट्राफिक जाम हुने क्षेत्र

कोटेश्वर : काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ । सडक विभागको तथ्यांकअनुसार कोटेश्वर हुँदै मनोहरा पुलबाट मात्रै प्रत्येक दिन ५६ हजार ९८ सवारीसाधन आउजाउ गर्छन् । कोटेश्वर नाकामा मुलुककै दुई ठूला अरनिको र बिपी राजमार्ग जोडिएका छन् । अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ ।

चाबहिल : कोटेश्वरपछि धेरै जाम चाबहिलको पूर्वी सडकमा हुने गर्छ । यो सडकमा प्रतिदिन ४२ हजार दुई सय ५६ सवारी गुड्छन् । जोरपाटी, गोकर्ण, थलीलगायतका क्षेत्रमा बाक्लो बस्ती भएकाले यस सडकमा सवारीसाधनको चाप बढेको हो ।

सिनामंगल : यो क्षेत्रमा दैनिक ३८ हजार दुई सय ६१ सवारीसाधन गुड्ने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल जोडिएकाले यस सडकमा अत्यधिक सवारीसाधन गुड्ने र ट्राफिक जाम हुने गरेको छ ।

नारायणगोपाल चोक : चक्रपथको नारायणगोपाल चोकमा पनि धेरै जाम हुन्छ । विभागको तथ्यांकअनुसार यस चोकमा दैनिक ३४ हजार चार सय ७० सवारी साधन गुड्ने गर्छन् । बुढानिलकण्ठ, बाँसबारी, गोल्फुटार लगायतका क्षेत्रमा बस्ति बाक्लो भएकाले यस चोक भएर अत्याधिक सवारी साधन गुड्ने गर्छन् । जसले ट्राफिक जाम बढाएको छ ।


हनुमन्ते सडक : त्यसपछिको धेरै जाम हुने सडक भक्तपुस्थित हनुमन्ते सडक खण्ड हो । विभागको तथ्यांक अनुसार हनुमन्ते पुल भएर दैनिक ३३ हजार सात सय ४३ सवारी साधन गुड्ने गर्छन् । बालकोट आसपासका क्षेत्रमा घना बस्ति भएकाले यस सडकमा अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।


बल्खु : काठमाडौंस्थित बल्खु सडकमा त्यसपछि धेरै ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार पाँच सय १२ सवारी साधन गुड्ने गर्छन् । हेटौंडा सडक खण्ड र कीर्तिपुर यही सडक भएर जाने भएकाले यहाँ अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।


बनस्थली : चक्रपथ सडक खण्डको बनस्थलीमा पनि अत्याधिक ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार चार सय ६६ सवारी साधन गुड्ने गर्छ । चक्रपथ सडक खण्डको मनोहरा सडकमा पनि अत्याधिक ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक ३२ हजार सात सय ८८ सवारी साधन गुड्ने गर्छन् ।


सातदोबाटो : चक्रपथ सडक खण्डै सातदोवाटो जक्सनमा पनि धेरै ट्राफिक जाह हुन्छ । यस सडकमा दैनिक २८ हजार ८ सय ७९ सवारी साधन गुड्ने गर्छन् ।


बालाजु : बालाजू वाइपास सडकमा पनि धेरै ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक २१ हजार चार सय २४ सवारी साधन गुड्ने गर्छन् । त्यस बाहेक सातदोवाटो दक्षिण चपागाउँ तर्फ जाने सडकमा पनि ट्राफिक जाम हुने गर्छन् । यस सडकमा दैनिक १६ सय ८३ सवारी साधन गुड्ने गर्छन् ।


नागढुंगामा : मुलुकको मुख्य नाका नागढुंगामा पनि ट्राफिक जाम हुने गर्छ । यस सडकमा दैनिक २२ हजार ९६ सावरी साधन गुड्ने गर्छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभागले तोेके भन्दा बाहेकका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुन्छन् । महाशाखाका अनुसार सवैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्र कलंकी चोक हो । त्यसपछि सवैभन्दा धेरै ट्राफिक जाम हुने जक्सन थापाथली चोक हो । ट्राफिक जाम हुने त्यसपछिको क्षेत्र सोह्र खुट्टे, नयाँ बानेश्र चोक, रत्नपार्क आसपासका क्षेत्र, त्रिपुरेश्वर चोक हुन् ।


महाशाखाका अनुसार यस क्षेत्रमा बिशेष गरी पिक आवरमा अत्याधिक ट्राफिक जाम हुने गर्छ । उपत्यकामा पिक आवर बिशेष गरि बिहानको नौ देखि ११ बजेको समय र साँझको ४ देखि ६ बजेसम्मको समय हो । महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले पिक आवरमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका बताए । उनले भने,‘उपत्यका भित्र बिशेष गरी कलंकी,थापाथली, त्रिपुरेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, सोह्र खुट्टे लगायतका क्षेत्रमा ट्राफिक जाम हुने गरेका छन् । पिक अवारमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका छन् । यस क्षेत्रमा दैनिक दुई घण्टा सम्म पनि ट्राफिक जाम हुन्छन् ।’


आयोजनाका अनुसार उपत्यकामा अहिले दुई सय भन्दा धेरै रुट छन् । पुर्नसंरचना हुँदा यो रुट ६६ मा समिति हुन्छन् । त्यस मध्ये प्राइमरी तह अन्तर्गत ८ वटा रुट छुट्याइएको छ । सेकेण्डरी तहमा १६ रुट पर्छ । ट्रसरी तहमा भने ४२ रुट पर्छ ।


राजमार्ग र सहायक राजमार्ग अन्तर्गत पर्ने सडकलाई प्राइमरी तहको रुटमा राखिएका छन् । २२ मिटर भन्दा चौडा सडक यस अन्तर्गत पर्छ । चक्रपथ, नागढुंगा–कलंकी–भित्रुरेश्वर, चाबहिल–जोरपाटी–साँखु सडक खण्ड यस अन्तर्गत पर्छन् । १२ मिटर सम्मका बस यस रुटमा सञ्चालन हुनपाउँछन् । जसले एकै पटकमा ८० यात्रु बोक्न सक्छ । जनघनत्वका आधारमा उपत्यकाभित्र यस खालका बस चार सय ६७ भए पुग्छ । यसले प्रतिदिन ८७ हजार पाँस सय किमि यात्रा गर्न सक्छ । यसो हुँदा प्रतिदिन दुई लाख ९८ हजार दुई सय किमि यात्रा घट्छ । यसबापत सरकारलाई प्रतिदिन दुई लाख ११ हजार किमि यात्रा फाइदा हुन्छ ।


सहरका भित्र तर १८ मिटर चौडा सडक सेकेण्डरी तहको रुटमा राखिएका छन् । यस अन्तर्गत बुढानिलकण्ठ–नारायणगोपाल चोक, नयाँ बजार–कीर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर, नयाँ बसपार्क–गोंगवु–ठमेल–बागबजार लगायतका सडक यस रुटमा समावेश छन् । यस रुटमा १० मिटरका बस सञ्चालन हुन्छन् । यसमा ६० यात्रुले यात्रा गर्न सक्छन् । यसका लागि चार सय ३७ बस चले पुग्छ । यसले उपत्यकाका यात्रुलाई प्रतिदिन ६७ हजार पाँच सय किमि यात्रा गर्दा समेट्न सक्छ । यसो हुँदा १८ हजार चार सय किमि यात्रा घट्न पुग्छ र सरकारलाई प्रतिदिन एक लाख २१ हजार किमि यात्रा फाइदा हुनपुग्छ ।


उपत्यकाका विभिन्न क्षेत्रलाई राजमार्ग र सहायक राजमार्गसम्म जोड्ने सडक ट्रसरी रुटमा पर्छन् । यस अन्तर्गत रानीपौवा–तीनपिप्ले–बालाजू, धर्मस्थली–बालाजू–नयाँ बसपार्क, चुनीगाउँ–फुटुङ–बालाजू–नयाँ बसपार्क–म्हेपी–पुरानो बसपार्क लगायतका सडक पर्छन् । यस रुटमा ६ मिटरका बस चल्छन् । जसमा २५ जना यात्रुले यात्रा गर्न सक्छन् । ट्रसरी तहको रुटमा पनि थोरै बस चल्दा पुग्छ । समग्रमा उपत्यका भित्र तीन हजारको संख्यमा सार्वजनिक सावारी साधन चले पुग्छ । वर्तमान अवस्थाको तुलनामा यो संख्या झण्डै ६६ प्रतिशतले कम हो । तथ्यांक अनुसार उपत्यका भित्र अहिले ८ हजारको संख्यामा सार्वजनिक यातायातका साधन चल्छन् ।


दुवै तहमा हाल सञ्चालित यातायात साधनले प्रतिदिन पार गर्ने दूरी र पुनर्संरचनापछिका यातायात साधनले पार गर्ने दूरीबीचको अन्तर नै दैनिक तीन लाख ३२ हजार किमि हुन्छ । यो भनेको उपत्यका भित्रको सार्वजनिक यातायातका साधन ६६ प्रतिशतले घट्दा वार्षिक तीन अर्ब ३३ करोड २० लाख रुपैयाँको इन्धन बचत हुनु हो । सरकारी ढुकुटीबाट बचत हुने रकम यही हो।


आयोजना प्रमुख श्रेष्ठले भने,‘रुट पुर्नसुंरचनापछि सवारी साधन घट्छ । त्यसो हुँदा इन्धन खतप कम हुन्छ । यो भनेका बर्षिक झण्डै साढे तीन अर्व रुपैयाँ बराबरको इन्धन हो । यसले उपत्यकाको ट्राफिक जाम पनि घटाउन सक्थ्यो । तर, यस तर्फ सरकारको ध्यान गएको देखिएको छैन ।


सवारीको अहिलेकै चाप रहे १० वर्षमा उपत्यका ठप्प


सडक विभागका अनुसार सडक विस्तार कम र अत्यधिक सवारीसाधन भएकाले उपत्यकामा ट्राफिक जाम बढेको हो । भएका सडक पनि वैज्ञानिक ढंगको नभएकाले पनि सडक ट्राफिक अस्तव्यस्त हुने गरेको विभागको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दीप बाराहीले बताए । उनले भने, ‘उपत्यकामा सवारीसाधनको चाप बाक्लो छ । तर, सडक विस्तार निकै कम भएका छन् । सवारीसाधनको वृद्धि यही रफ्तार हुने, तर सडक विस्तार नगरिने हो भने अबको १० वर्षमा उपत्यका ठप्प हुने निश्चित छ । यसबाहेक विस्तार गरिएका सडक पनि वैज्ञानिक छैनन् । माइतीघर–बानेश्वर–तिनकुने सडक यसको उदाहरण हो । यहाँ सडक त विस्तार भयो । तर, पुल विस्तार भएन । जसले सडकलाई बोतलनेक बनायो । उपत्यकाभित्र यही कारण ट्राफिक जाम बढेको छ ।’


ट्राफिक महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार अहिले भइरहेको सडक विस्तार र मेलम्ची खानेपानीका कारण पनि ट्राफिक जाम बढेको छ । उनले भने, ‘कलंकी–काटेश्वर सडकमा ट्राफिक जाम छ । सडक विस्तारका कारण यहाँ ट्राफिक जाम भएको हो । चाबहिल–गौशाला सडकमा मेलम्ची खानेपानीका कारण ट्राफिक जाम भएको छ ।’


काठमाडौं दिगो सहरी आयोजनाले दिएको प्रतिवेदनअनुसार सरकारले रुट पुनर्संरचना गरेको भए ट्राफिक जाम दुई वर्षअघि कम भइसक्थ्यो ।एसियाली विकास बैंक र विश्व वातावरण कोषको सहयोगमा दुई वर्ष अध्ययन गरेपछि आयोजनाले उपत्यकाको रुट पुनर्संरचना गर्न दुई वर्षअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो । तर, मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनमा नै ल्याएन । मन्त्रालयमा पेस गरिएको प्रतिवेदनअनुसार रुट पुनर्संरचना भए ट्राफिक जाम कम हुने मात्रै होइन प्रतिवर्ष ३ अर्ब ३३ करोड २० लाख रुपैयाँको इन्धनसमेत बचत हुन्थ्यो ।


‘रिपोर्ट गहन अध्ययनपछि तयार भएको हो । दुई वर्षअघि नै हामीले उक्त रिपोर्ट सरकारलाई बुझाएका हौँ । तर, कार्यान्वयनमा आएन । किन यस्तो भयो, थाहा भएन । कार्यान्वयनमा आए प्रतिवर्ष तीन अर्ब ३३ करोड २० लाख रुपैयाँबराबरको इन्धन बचत हुन्थ्यो,’ आयोजना प्रमुख दीपक श्रेष्ठले भने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।