काठमाडौं, पुस २६ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेको एक दशक नबित्दै देश रहने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको बताएका छन्। २९५ औंं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी राजदरबारबाट बाहिरिनु पर्ने कारणसहित गम्भीर आरोपहरु लगाएका छन्।
विज्ञप्तिमा ज्ञानेन्द्रले भनेका छन्, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं’, ‘तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।‘
साथै उनले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् । उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।’