धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै,कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती ?

Posted on: October 30, 2016 | views: 239

काठमाडौं,कात्तिक १४ ।  नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानैदेखि घरआँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आफ्नो घरमा आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको छ ।

कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती ?

आरतीका लागि एउटा पूजाको थालिमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने । आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फुल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः


ऊं या श्री: स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी: पापात्मनां कृतधियां ह्रदयेषु बुद्धि:।


श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नता: स्म परिपालय देवि विश्वम्।।


ऊं श्रीमहालक्ष्म्यै नम:, मंत्रपुष्पांजलिं समर्पयमि।


मन्त्र पढिसकेपछि हातमा लिएको फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः


आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।


यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।।


सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।


भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।


यति गरिसकेपछि पुनः प्रणाम गरेर


ऊँ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मी: प्रसीदतु।


भन्दै जल चढाउने ।


ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने । पूजाको विसर्जनाका लागि चामल लिएर गणेश एवं लक्ष्मीलाई चढाउँदै अन्य देवीदेउतालाई चढाउँदै यस्तो मन्त्र भन्नेः


यान्तु देवगणा: सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।