चिम्टेश्वरमा हजारौ दर्शनार्थी

Posted on: March 12, 2021 | views: 681

विदुर । नेपालीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा बेलकोटगढी नगरपालिकामा रहेको प्रसिद्ध भगावनको स्थान चिण्टेश्वर महादेव मन्दिरमा हजारौ दर्शनार्थको सहभागितामा लागेको शिवरात्री मेला सम्पन्न भएको छ । 

अघिल्ला वर्षको भन्दा यो वर्ष निकै धेरै पाच हजार भन्दाबढी भक्तजनले मन्दिरको दर्शन सहित पूजा आरधना गरेर जात्रा लागेको हो । नुवाकोटको सबैभन्दा उचाइको स्थानमा रहेका शक्तिपीठ मध्येमा पर्ने चिम्टेश्वर महादेवको मन्दिरमा उल्लेख्य भक्तजनको सहभागितामा मेला सम्पन्न भएसगैँ चिम्टेश्वर महादेवको मन्दिरको प्रचार र महिमामा बृद्धि भएको छ ।  

 अघिल्लो वर्षहरुको जस्तै यो वर्ष पनि बेलकोटगढी नगरपालिकाको विभिन्न वडा, ककनी गाउँपालिका सहित जिल्लाको विभिन्न स्थान, धादिङ, काठमाडौ लगायतका ठाँउबाट गरेर पाच हजार भन्दा बढी भक्तजनको आवागमन भएको मन्दिर संरक्षणमा खटिनुभएका स्थानीय जयराम पुडासैनीले जानकारी दिनुभएको छ । 


उहाँको अनुसार यो वर्ष चिण्टेश्वर महादेव मन्दिरमा दर्शन गर्न अहिलेसम्मकै धेरैको सहभागिता रहेको थियो । बिहीबार बिहानै देखि लागेको झक्तजनको घुँइचो साँझ अबेरसम्म पनि कायम रहेको थियो भने सहभागी भक्तजनलाई आउजाउ गर्ने क्रममा समस्या नपरोस भनेर ठाँउठाँउमा खानेपानी, स्वास्थ्य जाँच लगायतको सुविधा पनि उपलब्ध गराइएको थियो ।

झक्तजनहरु आउजाउको लागी राम्रो प्रबन्ध, प्रभावकारी मेला ब्यावस्थापन, सुरक्षाको लागी स्वंयम सेवक परिचालन समेत गरिएका कारण यो वर्ष चिम्टेश्वर महादेवको मन्दिरमा लागेको मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभएको छ ।

शिवरात्री पर्वको अबशरमा बिहीबार चिम्टेश्वर महादेवको मन्दिर सहित बेलकोटगढी नगरपालिकाको विभिन्न अन्य स्थानहरु बेलकोटमा रहेको ऋषिश्वर महादेवको मन्दिर, बागेश्वरी महादेव मन्दिर, शिवको चौतारो, पञ्चासेमा रहेको आरुकोटे महादेव मन्दिर, आनन्देश्वर महादेव मन्दिरमा पनि विशेष मेला लागेको थियो । 

यस्तै, मदानपुरको चण्डीडाँडामा रहेको सप्तऋषिश्वर महादेव मन्दिरमा पनि भगवान शिवको पूजा आरधना गरी शिवरात्री पर्व मनाइएको छ । 

यस्तै, बेलकोटगढी नगरपालिकाको जिलिङ स्थित भट्टथोकमा रहेको शान्तानेश्वर महादेव मन्दिरमा शिवरात्री पर्वको अवशरमा विशेष मेला लागेको छ । मेलामा पूजा आरधना, मादी र दीप प्रज्वलन सहितको धार्मिक कार्यक्रमहरु सञ्चालन गर्दै पर्व मनाइएको छ । 

मेलाले स्थानीयवासीलाई धर्मिक एकता र सहिष्णुता, परम्पराको संरक्षण तथा संस्कृतिको पुस्ता हस्तान्तरणमा समेत सहयोग पुगेको स्थानीयबासीले बताएका छन् । 

शिवरात्रीको अबशरमा बिहीबार दिनभर नुवाकोट सहित देशभरका शिव अर्थात महादेवको मन्दिरमा पूजापाठ गर्ने र राति ठूल्ठूला मुढा बालेर शिव धुनी जगाई जाग्राम बसेर यो वर्षको शिवरात्री पर्व उल्लासको रुपमा मनाइएको हो ।