बागमती प्रदेससभा अनिश्चित समयको लागी रोकियो

Posted on: January 21, 2021 | views: 906


विदुर । वाग्मती प्रदेशसभाको सातौं अधिवेशन अर्को सूचना नभएका सम्मका लागि स्थगित भएको छ । ६ महिनापछि सुरु भएको सातौं अधिवेशन पहिलो दिनको बैठक बसेर सदन स्थगित गरिएको हो । 

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो । आफ्नै दल नेकपाका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै प्रदेसभा बैठकदेखि सञ्चालन अन्योल बनेको हो ।

गएको साउन ८ गते चालू आर्थिक वर्षको बजेट पारित गरेर स्थगित भएको प्रदेशसभा अहिलेसम्म अवरुद्ध रहेको थियो भने अब पनि अनिश्चित समयको लागी रोकिएको छ । प्रदेशसभा बैठकको सुरुवातमा सदनमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बोल्ने संसदीय दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै त्यसको विरोध गरेका थिए ।   

यसैबीच, बागमति प्रदेशमा जस्तै, प्रदेश १ को प्रदेशसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । 

विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक बसेको तीन मिनेटमै केन्द्रीय राजनीतिको प्रभावको कारण प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।