‘बलियो संरचना बनाए भूकम्पको डर हुन्न ’

Posted on: January 16, 2021 | views: 703

कोलनी । अब बन्ने सबै किसिमका भौतिक संरचनाहरु भूकम्प प्रतिरोधी मापदण्डको पालना गरेर बनाउन नुवाकोटका सरोकारवालाहरुले आग्रह गरेका छन् । 

शुक्रबार आयोजित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिबसको अवसरमा नेपाल भूकम्प सहितको बहुविपद्को उच्च जोखिममा रहेकाले त्यसबाट बच्न भौतिक संरचनाको निर्माण सुरक्षित बनाउनुपर्नेमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आग्रह गर्नुभएको हो ।  

जिल्ला विपद् व्यावस्थापन समितिको आयोजनामा शुक्रबार कोलनी स्थित नेपाल विद्युत प्राधिकरणको हेलिप्याड चउरमा आयोजना गरिएको कार्यक्रममा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ढकालले हिमाल र डाँडाहरु परिपक्व नभएका कारण नेपाल भूकम्पीय जोखिममा रहेकाले बलियो संरचनाको निर्माण नै बच्ने एकमात्र उपाय रहेको बताउनुभयो । 

नेपालको जमिनमुनी पर्ने इन्डियन र तिब्बतीयन प्लेटहरुबीचको घर्षणको कारण  जाने भूकम्पबाट नेपाल उच्च जोखिममा रहेकाले भौतिक संरचना बलियो बनाए मात्रै बच्न सकिने उहाँले बताउनुभयो । 

भूकम्पबाट सुरक्षित हुने उपायबारे जनचेतना फैलाउदै तोकिएको मापदण्ड भित्र रहेर पूर्बाधार निर्माण गरेमा क्षति कम गर्न सकिने विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डितले बताउनुभयो । 

भूकम्पबाट बच्न भौतिक संरचनाको निर्माणको क्रममा नागरिकहरु आफै सचेत हुनुपर्ने जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले बताउनुभयो । 

“बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा : साझा सहकार्यमा जनधनको रक्षा” भन्ने नारा सहित शुक्रबार नुवाकोट सुहित देशभर नै २३ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाइएको हो । दिवसको अवसरमा नुवाकोटको कोलनीमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले भूकम्प जानुअघिको पूर्वतयारी, भूकम्पको समयमा बच्ने उपाय र भूकम्पपछिको उद्धार र राहतको सम्बन्धमा नमूना अभ्यासको प्रस्तुती देखाएको थियो । रेडक्रस नुवाकोट शाखाका उप–कोषाध्यक्ष उद्धव शर्मा रिजाल सहितको तालीमप्राप्त स्वंय सेवकले भूकम्प गएको जस्तै नमूना अभ्यास गर्दै आपतकालीन समयमा गरिने उद्धार र उपचारको नमूना अभ्यासलाई सहभागीले निकै रुचिकर र भूकम्प गएकै समयको स्मरण गराएको अवलोकनमा सहभागीले बताएका छन् ।

भूकम्प प्रतिरोधात्मक संरचना अभाबकै कारण साढे पाचवर्ष अघि २०७२ बैशाख १२ मा गएको भूकम्प बिनासकारी बन्न पुगेकाले आगामी दिनमा प्राकृतिक बिपतीको क्षतिलाई कम गराउन लाग्नुपर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । 

कार्यालयमा प्रमुख शम्भुकुमार शाहको अनु्सार भूकम्पले पुराएको क्षतिको पुर्ननिर्माण देखि आवास निर्माण आचारसंहिता कार्यान्वयनको जिम्मेवारी र नेतृत्व स्थानीयसरकार समक्ष प्रदान गरिएको छ । २०७२ मा गएको भूकम्पले क्षति पुराएका जोखिमयुक्त भवन अझै कायम भएकाले त्यसलाई हटाउन स्थानीयतह मार्फत सचेतना जगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकारी अनुदान सहयोगमा भूकम्प प्रतिरोधी घर बनाएपनि यसअघि जोखिम बनेका घरहरु अझै नहटाई त्यसलाई प्रयोग गर्दै आएकाले त्यसो नगर्न घरधनी र त्यस्तो संरचना हटाउनको लागी पहल गर्न स्थानीय सरकारलाई उहाँले अपिल गर्नुभएको हो । 

नेपालमा विक्रम सम्वत १९९० साल माघ २ गते दिउँसो २ : २४ मिनेटमा गएको भूकम्पको सम्झनामा नुवाकोट सहित शुक्रबार देशभर विभिन्न कार्यक्रम साथ सचेतना जगाउदैँ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । 

त्यसपछि पनि नेपालमा २०७२ वैशाख १२ गते शनिबार बिहानको ११ : ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसबाट करिब नौ हजार मानिसको ज्यान गएको थियो भने आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएको सरकारी तथ्यांक रहेको छ ।

बारपाक भूकम्पबाट नुवाकोट, रसुवा, धादिङ, गोर्खा सहितको १६ जिल्ला अतिप्रभाबित बन्न पुगेको थियो ।