नुवाकोटमा ५७ हजार ९०० घरको पुर्ननिर्माण सम्पन्न

Posted on: January 16, 2021 | views: 701

विदुर । साढे पाचवर्ष अघि २०७२ बैशाख १२ मा गएको विनासकारी भूकम्प र त्यसपछिको पराकम्पका कारण क्षति पुगेका संरचनाको नुवाकोटमा पुर्ननिर्माण ७५ प्रतिशत सम्पन्न भएको छ । भूकम्पले नुवाकोटमा अहिलेसम्म कायम भएको लाभाग्राही सङ्ख्या ७७ हजार ४६२घरधुरी रहेको मध्ये अहिलेसम्म ५७ हजार ९०० घरधुरीले निजी आवास निर्माणको सम्पन्न गरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख शम्भुकुमार शाहको अनुसार भूकम्पले लडाएको घर मध्ये लाभग्राही कायम भएका ७७ हजार ४६२ मा अहिलेसम्म ७६ हजार ४४४ घरधनीसंग भूकम्प प्रतिरोधी घर बनाउनको लागी तीन लाख रुपैयाँको अनुदान उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता भएको मध्ये ६ घरधुरी बाहेक ७६ हजार ४३८ घरधनीले सम्झौता गर्ने वित्तिकै पाउने पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर घर निर्माण सुरु गर्न लागेको अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । योसगैँ पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेको सङ्ख्या ७६ हजार १३५ घरधुरी रहेको पाइएको छ । 

यस्तै, घर निर्माण अन्तरगत जगसतह पूरा भएको भन्दै दोश्रो किस्ताको लागी निवेदन दिनेको सङ्ख्या नुवाकोटमा ७१ हजार ९६५ रहेका छन् । त्यो मध्ये ७१ हजार ५२९ घरधुरीले दोश्रो किस्ता बापत थप एकलाख ५० हजार रुपैयाँ पनि पाइसकेको कार्यालयको जनाएको छ । 


यसैगरी, घर निर्माण सम्पन्न गरेको भनेर तेश्रो तथा अन्तिम किस्ताको लागी निवेदन दिनेको सङ्ख्या ६७ हजार ४४२ धरधुरी रहेका छन् । त्यो मध्ये ६६ हजार ४३३ घरधुरीले तेश्रो तथा तीन चरण अन्तरगतको सबै तीनलाख रुपैयाँ प्राप्त गरिसकेको अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख शम्भुकुमार शाहले जानकारी दिनुभयो ।

समग्रमा नुवाकोटमा भूकम्पले क्षति पुराएका मध्ये ७५ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेको छन् भने ९५ प्रतिशतले निर्माणको चरण अघि बढाएकाले प्रगतिलाई सन्तोषजनक रुपमा लिइएको उहाँले बताउनुभयो । 

नयाँ घरको निर्माण भएपनि ती घरहरु धेरै लाभग्राहीको एक तथा दुई कोठे मात्रै रहेको, भूकम्पले क्षति पुराएका घर हटाउन आनाकानी गर्दै जोखिम घरमै बसोबास गर्दै आएको, भूकम्प प्रतिरोध घर बनाएपनि अनुदान पाएपछि ती घरको स्वरुप बिगाएर पुनः जोखिम बनाइएको कारण पुर्ननिर्माण पछिको विश्लेषण भने सन्तोषजनक नभएको पाइएको छ । भूकम्पबाट बच्न जनतामा नै चेतनाको स्तरबृद्धि गर्न आवश्यक रहेको कार्यालयले जनाएको छ । 

निजी आवासको पुर्ननिर्माण जस्तै, भूकम्पले क्षति पुराएका स्थानमा सुविधासम्पन्न नयाँ भवन सहितको विद्यालयका भवन, त्रिशूली अस्पताल नुवाकोट सहित विभिन्न स्थानका  स्वास्थ्यचौकी, सरकारी तथा सामुदायिक भवनको पुर्ननिर्माणको काम समेत नुवाकोटमा अन्तिम चरणमा पुगेको पाइएको छ ।