मकर सङ्क्रान्ति पर्व मनाइदै, आज सार्वजनिक बिदा

Posted on: January 14, 2021 | views: 102

विदुर । आज माघ १ गते अर्थात मकर सङ्क्रान्ति । स्नान, दान, जपध्यान लगायत विभिन्न धार्मिक कार्य गरेर मनाउन लागिएको छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ ।

सौर्यमानको गणना बमोजिम आजदेखि अब ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने  र धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान, जप आदि धार्मिक विधिका लागि आजदेखि शुभ कार्यहरु सुरु गर्न उत्तम मानिने गरिएको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसैगरी आजै योग दिवस समेत मनाउदै आज सबेरै देखि मध्यन्हसम्म नै भक्तजनले नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गर्न गरेका छन् । 

परापूर्बकालदेखि नै चलिआएको सँस्कृति तथा रितिरिवाजलाई निरन्तरता दिदै मुलुकमा रहेका बिभिन्न शक्ति पिठहरुमा गएराति मादी र बत्ति बालेर भक्तजनहरु जाग्राम बसी अहिले बिहान महादेव शिव लगायतको भगवानको पूजा आरधना गरी मकर सक्रान्ती पर्व मनाउने गरेका छन् ।

मकर सक्रान्ती पर्वको अवशरमा नुवाकोटको देबिघाट स्थित जालपादेवी मन्दिर, भैरवीदेवी मन्दिर, तुप्चेको भैरमकोट, दुप्चेश्वर महादेव मन्दिर, हल्देकालिकाको कालिकादेवी मन्दिर, दुईपिपलमा रहेको कुमारीदेवी मन्दिर लगायतका शक्तिपीठहरुमा आज दिनभर जात्रा लाग्ने गरेको छ । 

भगवानको मन्दिर तथा देवीदेवस्थानमा पूजा, दान तथा स्नान पछि आ–आफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने हिन्दु धर्मालम्बीको चलन रहेको छ । 

 तादी गाउँपालिका वडा नं. २ चिलाउने स्थित प्रसिद्ध धनेश्वर महादेव मन्दिरमा माघेसक्रान्ति पर्वको अवसरमा आज साँझदेखि भोलि शुक्रबार बिहानसम्म जात्रा लाग्ने गरेको छ । जात्रामा झाक्रि तथा ढ्याङ्ग्रे नाँच, मादी तथा दिप प्रज्वलन, स्थानीय लोक तथा ठाडे गित लगायतबाट मनोरञ्जन सहित हजारौ भक्तजनहरु सहभागि हुने गरेको वडाध्यक्ष बच्चुराम तामाङले जानकारी दिनुभयो ।  

यसैगरी आजै लच्याङ्ग, उर्लेनी, बालकुमारी, छाप, पञ्चकन्या, भदु्रटार, कविलास लिखु लगायतका स्थानमा रहेका शक्तिपीठमा हिन्दु र बौद्ध धर्मालम्वीले आ–आफ्नै परम्परा अनुसार पूजापाठ तथा जात्रा र मेला सञ्चालन गर्ने गरेका छन् ।