जमिनमुनीको फलको व्यापार निकै महङ्गो

Posted on: January 14, 2021 | views: 105

विदुर । नुवाकोटमा तरुल, पिडालु, शखरखण्ड लगायतको जमिनमुनीको फलको व्यापार निकै बढेको छ । माघे संक्रन्ति पर्वलाई लक्षित गरी नुवाकोटको बट्टार, विदुर, त्रिशुली, देवीघाट, ककनीको रानीपौवा लगायतका बजारहरुमा तरुल, पिडालुु, सखरखण्ड लगायतको कारोबार उच्च रहेको छ ।

स्वास्थ्यको लागी उपयोगी तथा जाडो मौसममा तातो खाद्यान्नको रुपमा मानिने जमिनमुनी फलेका फलहरु तरुल, पिडालु, शखरखण्ड, बदम लगायतको माग बढेको व्यापारीहरुले बताएका छन् । माघे संक्रान्तिपर्वको अवशरमा बजारमा विभिन्न खाद्य सामाग्रिहरु विक्रीको लागि राखिएकोमा फलको रुपमा रहेका खाद्यान्नको माग बढेपछि पु-याउन व्यवसायीले मूल्यमा समेत मनग्य नाफा कमाएका छन् ।

संक्रान्तिमा तरुल, सखरखण्ड, पिडालु, बदम, चाकु लगायतको फलको विषेश महत्व रहेकाले उत्पादन कम र उपभोक्ता बढी हुदाँ जमिनमुनी फलेका फलको मूल्य अकासिएको विदुरका व्यवसायी गोमा थापाले बताउनुभयो । 

माघे संक्रान्तिको अवशरमा बजारमा घरतरुल, सिमल तरुल, स्कुसको जरा लगायतका कारोबार राम्रो भइरहेको छ । पुसमा पकाएर माघमा खाने भएकाले माघे संक्रान्तिमा तरुलको व्यापारसगै अन्य शरीर न्यानो बनाउने खाद्य सामाग्रिको पनि ब्यापार निकै बढेको हो । 

माघे सक्रान्तीको समयमा तिलको लड्डु, चाकु, खिचडी, घ्यु र मह लगायतका खाद्य सामाग्रि खानुपर्दछ भन्ने साँस्कृतिक तथा परम्परागत जनविश्वास समेत रहदै आएको छ ।