नुवाकोटको र धादिङको विभिन्न स्थानमा गोरु जुधाइदै, तारुका २३, वेत्रावतीमा पाच हल जुध्ने

Posted on: January 14, 2021 | views: 92

विदुर । माघेसन्क्राति पर्वको अवसरमा कोरोनाको कहरको बीचपनि नुवाकोट र धादिङको विभिन्न स्थानमा गोरु जुधाउन लागिएको छ । 

नेपालमै गोरु जुधाईको लागी उद्गम स्थल मानिएको नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नं. ३ तारुकाको चन्दनी पाटोमा २३ हल र विदुर नगरपालिका वडा नं. १०  स्थित रसुवासंगको संगमस्थल वेत्रावतीमा पाच हल गोरु जुधाउन लागिएको छ । यसैगरी अघिल्लो वर्षको जस्तै यो वर्ष पनि औपचारिक रुपमै बेलकोटगढी नगरपालिका वडा नं.५ दुईपिपलको माझगाँउ, पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ पिपलडाँडा, लिखु गाउँपालिकाको वडा नं. ३ सूर्यमतीको कट्टीछाप, तादी गाउँपालिकाको वडा नं. ४ सातबिसे, शिवपुरी गाउँपालिकाको वडा नं. ५ शेराबगरको गैरीफाँट लगायतको स्थानमा गोरु जुधाउन लागिएको छ । गोरु दर्ताको समय सम्पन्न भइसकेपनि सम्पर्कमा रहेका किसानहरुले जुधाउने गोरुको दर्ता गर्नको लागी विभिन्न स्थानमा समय खुल्लानै राखिएकाले के कति हल गोरु जुधाउने भन्ने अन्तिम सङ्ख्या आउन भने बाँकी रहेको छ ।  

यसैगरी, धादिङको निलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेको फ्याक्सेमा पनि अघिल्लो वर्षको जस्तै विभिन्न सास्कृतिक कार्यक्रमको साथमा गोरु जुधाउन लागिएको छ ।  

माघेसक्रान्ति पर्वको अवसरमा तारुकामा हुने गोरु जुधाईको व्यवस्थापन स्थानीय सरकारको रुपमा वडा नं .३ को वडाध्यक्ष संयोजक रहने गरेर “मेला आयोजक समिति” गठन गरिएको छ । राजनीतिक दलहरुबाट आलोपालो प्रणाली मार्फत यसअघि ‘माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्था’को रुपमा जुधाईने गरिएकोमा यो वर्षदेखि तारुकाको गोरु जुधाईको नेतृत्व स्थानीय सरकारलरे लिएको हो । वडाध्यक्ष पदेन अध्यक्ष हुने भएकाले  “मेला आयोजक समिति”को अध्यक्ष सूर्यमान श्रेष्ठको अनुसार अघिल्लो वर्षको जस्तै यो वर्ष कोरोनाको जोखिमबाट सहभागितालाई बच्न अनुरोध गर्दै गोरु जुधाईको  अवलोकन गर्नको लागी अपिल गरिएको छ । गोरु जुधाई तथा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना  चन्दनीमा राखिएको छ । 

यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा आज वेत्रावतीमा पाँच हल गोरु  जुधाउन दर्ता भएका छन् । मेला आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलका अनुसार वेत्रावतीमा जुधाई गोरु जात्रामा यो वर्ष कोरोनाको जोखिमको कारण परम्परालाई नितन्तरता दिने भएकाले किसान भैरव बहादुर थापामगरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

यसैगरी, लिखु गाउँपालिकाको वडा नं. ३ सूर्यमतीको कट्टीछापमा गोरु जुधाउने कार्यक्रमलाई यो वर्ष पनि औपाचारिकता दिन लागिएको वडा नं. ३ का वडाध्यक्ष भोलाराज सेढाईले जानकारी दिनुभयो ।

यसैगरी, शिवपुरी गाउँपालिकामा गएको वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला चलाउन थालेको शेराबगर विकास समाज, नुवाकोटले यो वर्ष पनि औपचारिक रुपमा कार्यक्रम चलाउन लागिएको छ । सँस्थाका अध्यक्ष अभियान आचार्यको अनुसार आज आयोजना गरिएको गोरु जुधाईको लागी गोरु दर्ताको लागी किसानहरु सम्पर्कमा रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको छ । 

यसैगरी, तादी गाउँपालिकाको वडा नं. ४ सातविसेमा पनि गोरु जुधाउनको लागी आवश्यक तयारी पूरा भएको छ । ‘माघे सक्रान्ति गोरु जुधाई तथा विबिध सास्कृतिक कार्यक्रम’ मूल समारोह समिति मार्फत गोरु जुधाउन लागिएको छ । गोरु जुधाउनको लागी तयारी पूरा भएपनि आजसम्म नै दर्ता हुने गोरुलाई प्रतिस्पर्धामा सहभागि गराउन लागिएको छ ।

यसैगरी, धादिङको निलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेको फ्याक्सेमा पनि यो वर्ष औपचारिक रुपमा गोरु जुधाई प्रतिस्पर्धा चलाउन लागिएको मेला आयोजक ‘चमेरे गुफा संरक्षण समाज’काले जनाएको छ ।

आयोजकको अनुसार यो वर्ष ‘सातौ गोरु जुधाई मेला’मा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्थानीय हास्य तथा लोक कलाकारहरुको समेत प्रस्त्ुती समावेश गरिएको छ ।