प्रतिनिधिसभा विघटन मुद्धा ‘हेर्दाहेर्दैमा’ शुक्रबार पुग्यो

Posted on: January 14, 2021 | views: 97

विदुर । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा माघ २ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । प्रतिनिधिसभा विघटन विरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान बुधबार भएको बहसमा सरकारी पक्ष असहमत देखिएको छ ।

यसैबीच यस सम्बन्धको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने रिट निवेदकतर्फ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले माग गर्नुभएको थियो । बुधबार सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको छ । 

इजलासमा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान– मल्ल र तेजबहादुर केसी रहनुभएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छाडेपछि प्रधानन्यायाधीश जबराले सपना मल्ल प्रधानलाई समावेश गराउनुभएको हो । 

यसैगरी, प्रतिनिधिसभा विघटन विरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले असहमती जनाएको छ ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा के हो भनेर सोधेको र जवाफमा महान्यायाधिवक्ता अग्नि खरेलले ‘सहमति छैन’ भन्ने जवाफ दिनुभएको हो ।