नुवाकोट र धादिङमा गोरु जुधाई मेलाको तयारी पूरा

Posted on: January 12, 2021 | views: 136

विदुर । कोरोना रोगको सक्रमणको जोखिम भएपनि औपचारिक रुपमै यो वर्ष नुवाकोट र धादिङको विभिन्न स्थानमा गोरु जुधाएर माघे सक्रान्ति मेला मनाइने भएको छ । 

यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटको चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका वडा नं. ३ तारुकाको चन्दनीमा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर वडा नं. ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रमको तयारी पूरा भएको र १७ हल गोरु जुधाउन नाम दर्ता भैसकेको बताउनुभयो ।  

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यसअघि स्थानीयबासीले समिति बनाउने भएपनि यो वर्ष गाउँपालिका आयोजक भएर जुधाउन लागिएको हो ।   

तारुको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेको भएपनि यो वर्ष भने दर्शक भित्र्याउन भन्दा पनि परम्परालाई मात्र संरक्षण गर्न लागिएको छ । 

यस्तै, विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा कोरोनाका कारण चार हलमात्र गोरु जुधाउन लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिनुभयो । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिइ परम्परालाई निरन्तरता दिने उद्देश्यले थोरै सङ्ख्यामा गोरु जुधाइन लागिएको हो । 

बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई  चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै, पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ घलेगाउँमा यो वर्ष ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो । 

विजेता तथा सहभागी गोरुका धनीलाई १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

यस्तै शिवपुरी गाउँपालिकाको वडा नं ५, शेराबगरमा यो वर्ष पनि चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिनुभयो । यस्तै, अघिल्लो वर्षको जस्तै यो वर्ष लिखु गाउँपालिका वडा नं.३ सूर्यमतीको कट्टीछाप, तादी गाउँपालिका वडा नं.४ को सातविसेमा पनि गोरु जुधाउनको लागी आवश्यक तयारी अघि बढाइएको छ ।

यसैगरी, धादिङको निलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेको फ्याक्सेमा पनि  गोरु जुधाउन तयारी मिलाइएको छ । माघेसक्रान्ति पर्वको अवसरमा फ्याक्सेमा हुने गोरु जुधाईको व्यवस्थापन ‘माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्था’ मार्फत गर्न लागिएको दिपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार गोरु जुधाई सहित कलाकारहरुको उपस्थितीमा बृहत्त सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।