नुवाकोटमा गाई काटेको आरोपमा एकजना पक्राउ, नौ जना फरार

Posted on: September 07, 2020 | views: 390

विदुर । नुवाकोटको तादी गाउँपालिकामा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तादी–३ को टुटुङमा गाई काटेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले फरार भएकाको खोजी जारी रहेको बताए । पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।