माथिल्लो तिगाँउमा मौसमी भाइरल फैलियो

Posted on: February 07, 2020 | views: 1593

तिगाँउ  । बेलकोटगढी नगरपालिकाको वडा नं. ११ को माथिल्लो तिगाँउमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीनदिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार उपल्लो तिगाँउमा बेलकोट स्वास्थ्य चौकीबाट बिहीबार गएको अनमी उषा सिंह र कमला पाण्डेले ५४ जना बिरामीको उपचार गर्नुभयो ।

करीब पचास घरधुरी रहेको उपल्लो तिगाँउमा उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको छ । सोमबारदेखि फैलन सुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमबहादुर तामाङबाट पाए लगत्तै नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसंग समन्वयको आधारमा स्वास्थ्यकर्मी र औषधि सहितको टोली लिएर घरघरमै पुगेर बिरामीको उपचार गरेको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । बिहीबार ५४ जनाको उपचार गरेको र उनीहरुलाई स्वाथ्यकर्मीको निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

तामाङ समुदायको बासिन्दाको बासोबास रहेको उपल्लो तिगाँउमा रहेको नागरिकहरु बिरामी पर्नुको कारण खानेपानीमा दूषित भएको र सगसगैँ जनचेतनाको कमी भएका कारण उनीहरुको उपचार सहित स्वच्छ पानी पिउनको लागी अपिल गरिएको र रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।