बागमती प्रदेश लोकसेवाले पूर्णता पायो

Posted on: January 21, 2020 | views: 225

विदुर । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा सिफारिस भएका दुई जनाले सपथग्रहण गरेका छन् । प्रदेश लोक सेवा आयोगमा सिफारिस भएका सदस्य सुर्दशन ढकाल र शर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गर्नुभएको हो । 
बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल तथा सभामुख सानुकुमार श्रेष्ठको उपस्थितिमा सदस्यहरुलाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सपथग्रहणसँगै बागमती प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।
प्रदेशसभाबाट गएको भदौ १४ गते लोकसेवा आयोग गठनसम्बन्धी विधेयक पारित भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिले गएको कात्तिक २९ गते अध्यक्षमा सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको थियो । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्षको लागी तोकिएको छ ।
प्रदेस अन्तरगतका कार्यालयको लागी आवश्यक पर्ने कर्मचारी भर्ना, पदस्थापना, सरुवा, बढुवा, सम्मान तथा पुरस्कार, कारबाही लगायतका आवश्यक परिचालन प्रदेश लोकसेवा आयोग मार्फत गर्ने जिम्मेवारी तोकिएको छ ।