मैलुङ–स्याफ्रु सडक सञ्चालनको तयारी

Posted on: September 17, 2019 | views: 4008

रसुवा । वर्षाकाका कारण अवरुद्ध मैलुङ—स्याफ्रुबेँशीखण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रूपमा अघि बढाइएको छ । जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङतर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।

राजमार्गमा रहेका बाँकी अबरोध हटाउने काम भइरहेको र अब पाँच किलोमिटर दुरी खुलाएपछि यातायात सञ्चालनमा आउने स्थलगत रुपमा खटिनुभएका सासंद् मोहन आचार्यले दिनुभयो । उहाँको अनुसार बुधबार साँझसम्म उक्त सडकमा सवारी सञ्चालनमा ल्याउन सकिने लक्ष्य लिइएको छ ।

जिल्लाको राम्चे–ग्राङबीचको पासाङल्यामु मार्गमा पहिरोले अबरोध बनाएको सडकलाई सुचारु गराउन समय  धरै लाग्ने भएपछि सांसद् आचार्य सहित प्रदेशसभा सदस्यहरु प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ एवम् प्रशासन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कर्नेल तामाङ, नेपाली काँग्रेसका सभापति पेम्बा छिरिङ तामाङ समेतको समन्वय र सहकार्यमा जनसहभागितामा मैलुङ–स्याफ्रु सडक खण्ड सुचारु गराउन लागिएको हो । उक्त सडकमा ठूल्ठूला ढुङ्गा खसेर गत असारदेखि बन्द रहदै आएको थियो ।

राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद् आचार्य मार्फत उपलब्ध गराइएको दुई वटा, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाको दुई थान, स्याफ्रुबेशीतर्फ गोसाइँकुण्ड गाउँपालिकाको एक थान, स्काभेटर सहित रसुवागढी जलविद्युत आयोजना र डिभिजन सडक कार्यालय नुवाकोटको एक–एक थान सहित र पूर्वसासंद् जनार्दन ढकाल मार्फत उपलब्ध गराइएको एक थान लोडर पहिरो पन्छाउन कार्यक्षेत्रमा खटाइएको छ । सडक सुधार कार्यमा मैलुङतर्फबाट स्थलगतरूपमा खटिनुभएका सासंद् मोहन आचार्यका दाजु राममणी आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ र रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी सहितको टोलीले समन्वय गरिरहेको छ ।

उक्त क्षेत्रबाट सडक सचारुको लागी द्रुत रूपमा काम अगाडी बढाइएको गल्छी–रसुवागढी योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार छोकलतर्फबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको समन्वयमा सडक खुलाउने कार्यलाई तिव्र बनाइएको छ । राम्चे–ग्राङमा भदौ २५ गते पहिरो गएर तत्काल सडक खुलाउन सक्ने अबस्था नभएपछि यो सडक खण्ड शनिबारदेखि खुलाउन पहला भइरहेको हो ।
मैलुङ–स्याफ्रु सडक खण्ड नेपाली सेनामार्फत ट्रयाक खोलिएको १७ किमि दुरीको सडक रहेको छ । उक्त सडक खण्डमा गत असारदेखि पहिरो गएपछि अबरुद्ध रहदै आएको थियो । यस सडक सञ्चालनमा ल्याउन सके घुम्ती नभएका र छोटो दुरी समेत पर्ने हुदाँ रसुवागढी भन्सार हुदै नेपाल–चीन ओहोरदोहोर गर्न सहजता पुग्ने छ । बेत्रावतीबाट धुञ्चेहुदै स्याफ्रु निस्कन भन्दा मैलुङबाट सिधै स्याफ्रु पुग्न २५ किमि छोटो दुरी पर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताउनुभयो ।


उहाँको अनुसार धुञ्चेहुदै जाने सडक भन्दा मैलुङबाट जाने सडक सिधाँ भएकाले ओहोर दोहोर गर्न छिट्टो र दुर्घटनाको जोखिम समेत कम पर्ने छ । पासाङल्यामु मार्गको राम्चे–ग्राङ खण्डमा सडक पूरौ भासिएर जग समेत नै पहिरोको चपेटामा परेपछि दशैतिहार लक्षित गरेर चीनबाट रसुवागढी नाकाहुदै नेपाल भित्र्याउन लागिएको सामाग्रि बोकेका कन्टेनर भन्सारयार्डमा नै थन्किएका छन् ।

तयारी पोषाक, फलफूल, विद्युतीय उपकरण लगायतका सामाग्रि बोकेका कन्टेनरले भन्सार रहेको टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार भन्सार सक्किएका करीब चार सय कन्टेनर सडक अबरोधका कारण नेपालतर्फको गन्तव्यमा जान रोकिएका छन् ।