नुवाकोटको गोसाइँकुण्ड पानी उद्योगलाई प्रशासनले सिल गर्यो

Posted on: September 02, 2019 | views: 5586

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकीङ वाटर उद्योगमा सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले सिल गरेको छ । उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले उद्योगमा सिल लगाएको हो ।


प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अनुसार कम्पनी मार्फत बजारमा बिक्रीको लागी पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट प्रहरीमा आएपछि कारबाहीको लागी उद्योगमा सिल गरेर परीक्षणको लागी नमूना संकलन गरिएको छ ।
“उद्योगबाट संकलन गरिएको दुई थान नमूना परीक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ ।” पोखरेलले भन्नुभयो “नमूनाको नतिजाको आधारमा बाँकी कारबाही अघि बढ्नेछ ।”
उक्त कम्पनीमा सिल गरेसगैँ त्याहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्र मार्फत सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख नवराज श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँको अनुसार उक्त कम्पनीले पानी उत्पादनको लागी अनुज्ञापत्र (अनुमति) पत्र समेत लिन  बाँकी रहेको पाइएकाले उक्त पानीमा कैफियत पाइएमा हदै सम्मको कारबाही हुने ब्यबस्था रहेको छ ।


नुवाकोटमा एक वर्ष अघि स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत विभिन्न सचेतना, जागरुकता तथा सहयोगात्म कार्यक्रम मार्फत उपभोक्ता र उद्योगीलाई जानकारी दिदै आइरहेको समयमा उक्त उद्योगको गतिविधि अटेर प्रवित्तिको रहेको पाइएको छ ।