बेलकोटगढी नगरपालिका वडा नं. १२ को वडा कार्यालय भवन शिलान्यास

Posted on: May 07, 2019 | views: 5314

मदानपुर । बेलकोटगढी नगरपालिका वडा नं १२ को वडा कार्यालयको नयाँ भवन निर्माणको लागी मंगलबार शिलान्यास गरिएको छ ।
नयाँ भवन निर्माणको लागि मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना सहित प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र वडाअध्यक्ष डिल्लीराम सिलवालले सयुक्त रुपमा नयाँ भवन निर्माणको लागी शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले नगरवासीमा यसअघिका पीडा हटाउन आफुहरु जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर आएपछि सुधारहुँदै गएको अनुभूति दिलाउनतर्फ लागेको बताउनुभयो ।
 उहाले नगरमा मापदण्ड निर्धारण गरेर सडक विस्तारमा दुर्त गतिमा काम अघि बढाईरहेको विकासको लागि जनताको माग अनुसार करोडौका योजना सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो ।

मेयर खनालले आफु जनताको प्रतिनिधि भएकाले पार्टीगत स्वार्थ त्यागेर जनताको चाहना अनुसार योजना तर्जुमा र कार्यान्वयन तर्फ लागिरहेकाले सकारात्मक कार्यमा पक्ष तथा विपक्षिबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू वडा नं १२ को स्थानीयबासिन्दा भएपनि समग्र नगरबासीको हितको लागी बृहत्त योजना बनाएर विकास निर्माण एंव जनतालाई सेवा पुर्याउन प्रतिबद्धत रहेको बताउनुभयो ।

यस्तै, उपमेयर कविता ढुङ्गानाले नयाँ निर्माण गरिएको वडा कार्यालय भवन स्थानीयतह भएकाले यहाँ भौतिक संरचनाका अभाव पूरा गर्नको लागि क्रमशः त्यसतर्फ १२ नं वडाको भवन शिलान्यास गरेर सुरु गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको १३ वटा वडा मध्ये नौ वटा वडामा कार्यालय अभाव रहेकाले यो आर्थिक वर्षमा चार वटा वडा कार्यालयको भवन बनाउन लागिएको जानकारी दिनुभयो । उहाँको अनुसार  यो वर्ष चारवटा नयाँ निर्माण गर्न लागिएकोमा वडा नं १२ को भवन पहिलो शिलान्यास गरिएको र क्रमश थप वडाका भवनहरुको पनि शिलान्यास गरेर असार भित्रै नयाँ कार्यालय भवन सञ्चालनमा ल्याउन लागिएको छ ।



कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले नगरमा चारवटा वडा कार्यालय निर्माणका क्रममा वडाबासी जनता लगायतको सकृयताले पहिलो नम्बरमा १२ नं को भवन निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले नगरमा बजेटको श्रोत प्रयाप्त रहेकाले तर्जुमा गरिएका योजनाको पारदर्शी एव गुणस्तरीय रुपमा काम गर्न नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको भवन अस्थायी संरचनामा बसेर सञ्चालन गरेपनि जनतालाई भने विकास निर्माण, सेवा प्रवाहमा कुनै कमी भएको महशुस हुन नदिन नगरपालिका परिवार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो ।
 



शिलान्यास कार्यक्रममा वडा नं १३ का वडाअध्यक्ष पशुपति लोहनीले नयाँ निर्माण गरिएको नगरपालिकामा विकास निर्माणको लागि धेरै चुनौतिका बिच नगर र वडाहरुको कार्यालय सञ्चालन, बस्तिहरुमा सडक निर्माण, भूकम्प पछिको पुर्ननिर्माणमा सकृय भएर लागिपरेको बताउनुभयो । नगरपालिको प्रवक्ता समेत रहनुभएका लोहनीले नगरपालिकाबाट प्रवाह हुने सेवा सरल बनाएर अघि बढाउदै आएकाले सबै वडा र वस्तीमा सामानरुपमा वितरण तथा उपलब्ध गराउन लागिएको बताउनुभयो ।



कार्यक्रममा वडा नं .१२ का वडाध्यक्ष डिल्लीराम सिलवालले भृकुटी स्थित फूलबारीमा स्थानीय दाताहरुबाट प्राप्त  भएको जग्गा नयाँ निर्माण थालिएको भवन सबैको लागी पायक पर्ने र भवन बनेसगै वडाबाट प्रवाह हुने सेवामा थप गुणस्तरीयता बन्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा नगरपालिकाको बागवानी विकास अधिकृत छविलाल शर्मा, सवईञ्जिनियर बद्री भण्डारी, नगर सदस्य नरेशबहादुर राई,  नेपाली काँग्रेसका प्रतिनिधि कृष्णप्रसाद सेढाई लगायतको सहभागिता रहेको थियो ।


वडासचिव अमरबहादुर तामाङको अनुसार चारकोठा पक्कि भवन निर्माणको लागी श्रवशक्ति महामायाँ प्रालि निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । उक्त प्रालीले रु ४२ लाख रुपैयाँमा बनाउने जिम्मेवारी पाएको हो ।
निर्माण थालिएको भवन असार मसान्तभित्रै पूरा गर्नुपर्ने बाध्यता रहेको छ । हाल वडा कार्यालय भवन अभावमा फूलबारी स्थित भृकुटी माविबाट सञ्चालन भइरहेको छ ।