घ्याङडाँडा दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन उपसभामुख तामाङ सक्रिय

Posted on: December 17, 2018 | views: 12671

२ पुस, नुवाकोट । प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं १ घ्याङफेदीको घ्याङडाँडामा गत शुक्रबार (पुस २८ गते) भएको मिनीट्रक दुर्घटना पर घाईते भएकालाई निः शुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्नुभएको छ । उपसभामुख तामाङको पहल पश्चात सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ।  

दुर्घटनामा परी घाइते भएकालाई भेटन आज काठमाडौ स्थित उनीहरु उपचार गराउदै आएको अस्पतालमा  पुगे लगत्तै सिंहदरबार पुगेर गृहमन्त्री रामबहादुर थापा (बादल) र गृहसचिव प्रेमकुमार राईलाई भेटेर उपचार खर्चको व्यवस्था छिटो गर्न उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।

घटनालगत्तै उद्धार देखि उपचारसम्म पहल गर्नुभएका उपसभामुख तामाङले अहिले उपचारको लागी आवश्यक परेको खर्च व्यवस्थापनमा ढिलाई भएपछि पूर्वमन्त्री हितबहादुर तामाङलाई समेत साथमा लिएर उहाँ सिंहदरबार पुगेर घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गर्न आग्रह स्वरुप दबाब दिनुभएको हो ।

उहाँहरुको ताकेता पछि गृहसचिव प्रेमकुमार राईले आजै टिप्पणी उठाएर पठाउने र छिट्टै उपचार खर्चको व्यवस्था हुने जानकारी दिनुभयो । केन्द्र सरकारले दिने रकमबाट अपुग भएको अवस्थामा प्रदेश सरकारबाट पनि सहयोग गर्न मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसंग कुरा गरिसकेको उपसभामुख तामाङले जानकारी दिनुभयो । टिप्पणी तयार पश्चात अब बस्ने पहिलो मन्त्रीपरिषद्को बैठकले घाइते भएकाहरुको उपचार निःशुल्क हुने निर्णय गर्ने विश्वास लिइएको छ ।
 
शुक्रबार भएको मिनीट्रक दुर्घटनामा परि २० जनाको निधन भएको थियो भने १४ जनाको  काठमाडौं स्थित टिचिङ, विपी स्मृति अस्पताल, अन्तराष्ट्रिय बालमैत्री र ट्रमा सेन्टरमा अहिले उपचाररत रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको लागी आ–आफ्नो धार्मिक बिधि अनुसार अन्तिम सँस्कार (किरिया खर्च) बापत राहत स्वरुप प्रति मृत्तकका परिवारलाई पच्चीस हजार रुपैयाँ दिने निर्णय आइतबार बसेको दुप्चेश्वर गाँउपालिकाको कार्यपालिका बैठकले गरेको थियो । घाइतेहरुको लागी गाँउपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउनको लागी पहल गर्न प्रदेससभा सदस्य, प्रतिनिधिसभा सदस्य, नुवाकोट प्रशासन लगायतलाई आग्रह गरेको थियो ।

नुवाकोटको भौगोलिक रुपमाअति दुर्गम र विकट गाउँका र आर्थिक रुपमा समेत विपन्न रहेका तामाङ समुदायहरु बसोबास गर्दै आएको सिसिपुका स्थानीय बासिन्दा शिखरवेशी स्थित सिम्टाङमा घेवामा पुगेर फर्कदै गर्दा शुक्रबार साँझ बा.३ ख ३९१३ नं. को मिनिट्रिक दुर्घटनामा परेको थियो ।
दुर्घटना पश्चात चालक र सहचालक फरार छन् ।

यसैबीच, दुर्घटनाको घाइतेहरुसंगको भेटमा उपसभामुख तामाङले उपचारको लागी निःशुल्क व्यवस्था मिलाउन आफू क्रियाशिल हुने हुदाँ कुनेै चिन्ता नलिन आग्रह गर्नुभयो । उपचाररत घाइते र उनीहरुका आफन्तले उपचारमा आर्थिक अभाव हुदाँ गुणस्तरीय उपचार पाउनेमा आशंका जनाएपछि   पूर्व कृषि विकास राज्य मन्त्री समेत रहनुभएका तामाङले आफूले निःशुल्क उपचारको ग्यारेन्टी गराउन सफल हुने विस्वासको साथ प्रभावकारी उपचार हुनेमा विश्वस्त हुन आग्रह गनुभयो ।

त्यसलगत्तै उहाँले घाइतेहरु उपचाररत रहेका अस्पतालहरुमा पुगेर अस्पताल प्रशासनलाई घाइतेको उपचार राज्यबाट निःशुल्क मिलाउन आफू लागिरहेकाले उनीहरुलाई उपचारको लागी आर्थिक पक्षमा कुनै दबाब नदिन भन्नुभयो । उपसभामुख तामाङको आग्रहपछि अस्पताल प्रशासनले पनि सरकारी निर्णयको प्रतिक्षामा रहने भन्दै घाइतेहरुको उपचार गुणस्तर बनाउन लागीपर्ने र उनीहरुलाई आर्थिक पक्षमा दबाब नदिने बताएका छन् ।