मेलमिलापलाई प्रभावकारी बनाउन सके दिगो शान्ति स्थापना हुने

Posted on: November 18, 2018 | views: 3655

विदुर । जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले मेलमिलापलाई प्रभावकारी बनाउन सके समुदायमा दिगो विकासको लागी उल्लेखनीय योगदान पुग्ने बताउनुभएको छ ।


विदुरमा शनिबार आयोजित सामुदायिक मेलमिलापकर्ता समाज नेपालको पहिलो साधारणसभाको उद्घाटन गर्दै उपप्रमुख थापाले ‘मेलमिलाप’को माध्यबाट विवादित दुवै पक्षको जीत–जीतको अबस्था सिर्जना हुने, एकआपसमा एकता कायम हुने र अदालत मार्फत मुद्धाको फैसला हुदाँ प्रक्रियागत रुपमा समय लाग्ने भएकाले तत्कालै न्यायको नतिजा समेत पाइने भएकाले नुवाकोटका वडाहरुमा स्थापना भएका सामुदायिक मेलमिलाप र स्थानीयतहमा उपप्रमुखको नेतृत्वमा गठित न्यायिक समितिको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


यस्तै,
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले नुवाकोटको साविक स्थानीय निकायमा गठन भएका मेलमिलाप केन्द्रलाई हाल स्थानीयतहको वाडा कार्यालयस्तरीय बनाएर स्थापना भइरहेको जानकारी दिनुभएको छ । उहाँको अनुसार जिल्लामा रहेका ८८ मध्ये अहिलेसम्म ७३ वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भइसकेको छ भने स्थानीयतहमा रहेको उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समितिलाई पनि प्रभावकारी बनाएर सञ्चालनमा ल्याउन सस्था मार्फत सहयोग पु-याउदै आएको छ ।


सँस्था मार्फत अहिलेसम्म नुवाकोटमा सातसय भन्दा बढी मेलमिलापकर्ता उत्पादन भइसकेका छन भने यो वर्ष एक सय थप उत्पादन गर्ने योजना बनाइएको छ । साधारणसभामा मेलमिलापकर्ता समाज नेपालका नुवाकोट अध्यक्ष मणिराज घिमिरेले नुवाकोटमा तालीमप्राप्त रहेका मेलमिलापकर्ताहरुको साझा सामाजिक सँस्थाको रुपमा स्थापना भएको सँस्थाले सामुदायिक मेलमिलापकर्ताहरुको सूचिकृत, परिचयपत्र, हक अधिकारी स्थापना लगायतको लागी योगदान पु-याउदै आएको बताउनुभएको छ ।


अध्यक्ष घिमिरेले समुदायमा सस्थागत तथा व्यक्तिगत रुपमा विवाद निरुपण तथा सामाजिक सहकार्यता स्थापना गर्न पु-याउदै आएको भूमिकालाई राज्यले वेवास्था गरेको भन्दै त्यसको सम्बोधन गराउनको लागी आफूहरु प्रयासरत रहेको बताउनुभएको छ ।


साधारणसभाको बन्द सत्रले सस्थाको कोषाध्यक्ष होमबहादुर तामाङले पेश गरेको आर्थिक प्रतिवेदन र सँस्थाले आगामी दिनमा सामुदायिक मेलमिलापलाई समाजमा बुझाउन जनचेतनामा बृद्धि, शैक्षिक सँस्थामा मेलमिलाप सम्बन्धि शिक्षा प्रवाह लगायतमा जोड दिनेगरी अध्यक्ष घिमिरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।