विमानस्थलबाट हुने सुन तस्करीका विषयमा यस्तो छ भुजुङ गुरुङको सनसनीपूर्ण बयान

Posted on: May 03, 2018 | views: 7239

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ मध्ये ६ जना अभियुक्तको बिहिबार जिल्ला अदालत मोरङमा बयान भएको छ। तस्करी समूहमा आबद्ध प्रमुख व्यक्तिहरुको बयान सकिएको हो। सुन प्रकरणा मुछिएका राप्रपाका नेतासमेत रहेका भुजुङ गुरुङले बयानको क्रममा यस्तो खुलासा गरेका हुन् ।

२०४०/०४५ सालबाट सुन तस्करीमा संलग्न भएको बताउने गुरुङले साढे ३३ किलो सुनमा मोहन कुमार अग्रवालको लगानी रहेको पनि खुलाएका छन् । गत चुनावमा मनाङबाट राप्रपा नेपालका तर्फबाट उम्मेदवार समेत रहेका भुजुङ गुरुङ चुनावपछि पशुपतिशम्शेर राणाको पार्टीमा छन् । उनलाई पशुपतिशम्शेर राणाले संरक्षण गर्दै आएको राप्रपाका नेताहरु बताउँछन् । मनाङकै भएको नाताले दीपक मनाङे र भुजुङबीच राम्रो सम्बन्ध रहेको जानकारहरु बताउँछन् ।

विमानस्थलबाट हुने सुन तस्करीका विषयमा यस्तो छ भुजुङ गुरुङले दिएको सनसनीपूर्ण बयान :

मलाई यकिन मिति याद भएन, वि.सं. ०४०/४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल र्फकने क्रममा चिनजान भएका थाई एयरलाईन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो ।

निजहरुले पहिलेदेखिनै सोल्टि होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोवार गर्ने गरेका र निजहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजी लगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।

यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौं ।

उक्त सुन खरिदका लागि हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूका नेपालमै रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको सोधभर्नावापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने र सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।

यसरी सुनको कारोवार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायत लाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं । हामीले उक्त सुन निजहरुलाई दिएपछि उनहरुले को-कसलाई दिने गरेका थिए, मलाई थाहा भएन ।

सन १९९० (बिसं.०४८) भन्दा अगाडि बसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सको काम छाडेपछि तत्कालका लागि हामीले सुनको कारोवारमा केही असहजत महशुस गरी सुनको कारोवार बन्द गरी हामीहरु अन्य व्यवसाय गरी बस्यौं ।

सन् २०१३ (बि.सं.०६९) देखि हुनुपर्छ म, गोरे भन्ने चूडामणि उप्रेती, मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङ वाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाल लगायतका मानिसहरुवीच भेटघाट तथा छलफल भई पुनः सुन तस्करी गर्ने योजना बनाइयो ।

योजना मुताविक मैले गोपालकुमार श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरी सुन तस्करीको कारोबार गर्ने निर्क्यौल भयो ।

एयरपोर्टबाट के कसरी सुन बाहिर निकाल्ने भनी निजसँग सल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएर जाने भनी योजना बनाई सोही मुताविक सुन तस्करीको कारोबार गर्न थाल्यौं ।

यसरी सुनको तस्करी गर्ने क्रममा एमके भन्ने मोहनकुमार अग्रवाल र निजका तीनजना मैले नाम थाहा नपाएका दाजुभाइहरु, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमा संलग्न रहेका थिए ।

सुन तस्करीका लागि एमके भन्ने मोहनकुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुका नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम वापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँ हाम्रो आफ्नो रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याउन थाल्यौं ।

त्रिभुवन विमानस्थलमा त्यहाँ थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर पहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर र वीरेन्ऽमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेका थिए ।

यसबीचमा मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटावसमेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपालकुमार श्रेष्ठ र वीरेन्ऽमान श्रेष्ठलाई अबदेखि मेरो घरमा नआउनू, तर मेरो मान्छेले भनेको स्थानमा गएर सामान छाड्नु भनें ।

त्यसपछि निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चूडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिले देखाएबमोजिम गोरे भन्ने चुडामणी उप्रेती लगायतले सञ्चालन गरेको अनामनगरस्थित अफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पुर्‍याउन थाले ।

गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधंै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिएँ ।

यसरी सुनको कारोवार गर्ने क्रममा एमके भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिलेकाहीँ मेरो र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चूडामणि उप्रेतीको लगानी रहेको सुनसमेत ल्याउने गरेका थियौं ।

गोरेको लगानी रहेको सुन गोरे भन्ने चूडामणि उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालको लगानी भएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गर्थ्यौं ।

एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसन बापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कति कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कति कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।

गोपालकुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए । प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रतिएक के.जी को नेपाली रकम ४० हजार पाउने गरेको थिएँ । र, सो रकमबाट मैलेप्रति एक के.जी. ५ हजार रुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सो रकमबाट बिमावापत भनी केही रकमसमेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ ।

यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना ४/५ पटकदेखि ८/१० पटकसम्म सुन आउने गरेको मलाई थाहा छ ।

सुन तस्करीको क्रम निर्वाध तथा निरन्तररुपमा चलिरहेको थियो र हाम्रो कमाइ पनि भइरहेको थियो । पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गते) एमके भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको मसमेतले कमिसन प्राप्त गर्ने साढे ३३ केजी सुन बैंककबाट थाई एयरलाईन्स हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चूडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा मैले जानकारी पाएँ ।

सुन मालिक एमके भन्ने मोहनकुमार अग्रवालको उक्त सुन पत्ता लगाउनैपर्ने दबाव आएसँगै मैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्त हराएको साढे तेतीस के.जी. सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने दबाव दिइरहेका थियौं ।

हामीहरुले जे जसरी हुन्छ, हाम्रै ग्रुपका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं ।

हराएको उक्त साढे ३३ के.जी. सुन नभेटिएमा थाई एयरका एयरपोर्टका कर्मचारीहरुको समूहबाटै हराएको सुनको क्षतिपूर्ती असुल गर्नुपर्ने अवस्था रहेको थियो । त्यसैले एयरपोर्टका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछि नहटी सुन पत्ता लगाईछाड्नु भनी गोरे भन्ने चूडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं ।

हामीलाई सुन मालिक मोहन कुमार अग्रवालले उक्त सुन कसले लगेको छ, जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर -ज्यानसमेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दबाव दिइरहेका थिए ।

यो कामका लागि गोरेलाई बरु आफ्नो समूहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे सोसमेत गरी जसरी भए पनि उक्त सुन खोज्नु भनी दबाव दिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएका थियौं । हामीले दिएको आदेशबमोजिम नै गोरेले आफैं र आफ्ना गु्रपका मानिसहरुद्वारा विभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्न स्थानमा लगी यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो ।- दैनिक नेपाल