'गोरखा भूकम्प'को प्रतिवेदन सार्वजानिक

Posted on: January 31, 2018 | views: 1257

२०७२ साल बैशाख १२ मा गएको गोरखा भूकम्पका बेला हडबडाएर हिड्ने वा केहि नगर्ने भन्दा घुँडा टेकी गुडुल्की मारी कुनै ओत लिएर बस्ने मानिसमा चोटपटक कम लागेको एक अध्ययानले देखाएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु मध्ये ५ जिल्लाका १० गाविसहरुका ५०० घरपरिवारहरुलाई उद्देष्य मूलक बिधि मार्फत छनौट गरि सम्पन्न गरिएको अध्ययनले भूकम्पको बेला आफ्नो शरीरलाई सानो पारी गुडुँल्किएर बस्नेहरुभन्दा भाग्ने वा अत्तालिएर यताउता गर्नेमा क्षति बढी पुगेको दावी गरेको छ ।

 

राजधानीमा आयोजित एक कार्यक्रममा विपद् जोखिम ब्यवस्थापन बिज्ञ तथा पूर्व शिक्षा मन्त्री डा गंगालाल तुलाधर, सेभ द चिल्ड्रेन कि निर्देशक जुली एलेन तथा नेपाली सेनाका सहायक रथि जीत बहादुर गुरुङ्गले सयुक्त रुपमा सो रिपोर्ट सार्वजानिक गरेका हुन् । यस सर्बेक्षणमा ५०० घर परिवारका १ हजार ८ सय ५५ व्यक्तिको भोगाइ र निक्र्योल समेटिएको छ ।

 

यो अध्ययन अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त अनुसन्धानकर्ता मार्ला पेटलको नेतृत्वमा गोरखा भूकम्पपछि स्थानिय संस्थाहरु र विश्वका बिभिन्न लब्धप्रतिष्ठित बैज्ञानिकहरुको सहयोगमा सेभ द चिल्ड्रेनले गरेको हो । अनुसन्धानमा रेडक्रस ग्लोबल डिजास्टर प्रिपेयर्डनेस सेन्टर, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, रिस्क रेड र नेपाल रिस्क रिडक्सन कन्सोर्टियमले सहयोग गरेका थिए । अनुसन्धानकर्ता मार्ला पेटलले यसअघि पनि टर्कीको भूकम्प पश्चात यस्तै प्रकारको अनुसन्धान गरेकी थिइन् ।

 

सर्वेक्षणमा सहभागी मानिसहरू मध्ये ८८ प्रतिशत (१६२७) मानिसहरूलाई भूकम्पका कारण कुनै चोटपटक लागेको पाइएन । सर्वेक्षण गरिएका मध्ये १० प्रतिशत (१९०) घाइते हुन पुगेका थिए भने सर्वेक्षण गरिएका मानिसहरुका नातेदारहरु मध्ये २ प्रतिशत (३८) जनाको मृत्यु भएको थियो । यस अनुसन्धानको लागि छनौट गरिएका घरगाउँ र जनसंख्यामा सबै मृतकहरुको ज्यान घर भत्किएर नै भएको पाइएको थियो, अर्थात पताल भई ढलेका घरमा मात्र मृत्यु भएको थियो ।

 

अत्यधिक क्षतिग्रस्त भएको भवनमा वा त्यसको वरिपरि रहेका मानिसहरुलाई गम्भीर चोटपटक लागेको वा मृत्यु भएको  अध्ययनले देखाएकोे छ । ५८ प्रतिशत घाइतेहरु पूर्ण रुपमा भत्केका र पताल भएका भवनमा बस्नेहरु रहेका र १७ प्रतिशत घाइतेहरु अत्याधिक क्षतिग्रस्त हुनपुगेका भवनमा रहेको पाइएको छ । घाइतेहरुमध्ये शरिरको अंग किचिएका, टाउको तथा छातीमा चोट लागेकाहरुको मृत्यु बढी भएको पाइएको छ । मृतकमध्ये ७५ प्रतिशतको टाउकोमा, ५८ प्रतिशतको  छातिमा, ४२ प्रतिशतको ढाडमा तथा ४१ प्रतिशतको खुट्टामा चोट लागेको पाइयो ।

 

सर्वेक्षणको नमूना जनसंख्यामा प्रायः सबै चोटपटक र मृत्युको घटना भूकम्प पछिको खोज तथा उद्धार, उपचारको पर्खाइका क्रममा वा अन्य समयमा नभएर भैंचालोको कम्पन भैरहेको अवधि भित्र नै भएको थियो । चोटपटकको ९६ प्रतिशत तथा मृत्युको शत प्रतिशत घटना भूकम्पले हल्लाएको समय अवधि भित्र नै भएको पाइएको छ ।

 

मृत्युवरण गर्न नपरेका घाइतेहरुमा खुट्टा, घुँडा, पैताला, बुढी औंला आदि शरीरका अंगहरुमा चोटपटक लागेको देखाएको रिपोर्टमा जनाइएको छ । सो अध्ययनले भूकम्पीय विपद्का घटनामा घातक चोटपटकबाट जोगिन, टाउको, छाती र गर्धन जोगाउनु महत्वपूर्ण हुने देखाएको छ ।

 

सो अध्ययनले भूकम्पमा सामान्य क्षति भएका, हल्का क्षति भएका र कुनै प्रकारको क्षति नै नभएका भवनमा समेत ९ प्रतिशतमा मानिसहरु घाइते हुन पुगेका देखाएको छ । यसबाट अव आउन सक्ने भूकम्पहरुबाट बच्न भवनका सरसामान, फर्निचर तथा अन्य बस्तुहरुका कारण चोटपटकबाट जोगिन गैरसंरचनात्मक न्यूनीकरणका उपायहरु अबलम्बन गर्नु महत्वपूर्ण हुने रिपोर्टमा उल्लेख छ ।

उक्त अध्ययनको बिधि तथा उद्दृेष्यका बारे स्वस्थ्य अनुसन्धान तथा सामाजिक बिकास मन्चका प्रबन्ध निर्देशक डा सुशिल बरालले सो कार्यक्रममा प्रस्तुत गरेका थिए भने यसको निष्कर्ष, सुझाव तथा सारंश मार्ला पेटल तथा डा. बिष्णुहरि पाण्डेले अनलाइन मार्फत प्रस्तुती गरेका थिए ।


 

कार्यक्रम संयोजक तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका उप–कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले भूकम्पपछि अन्य देशहरुमा यस्ता अध्ययानहरु भएपनि नेपालमा भने यस अघि यस्ता अध्ययान नभएकाले यसले नेपालमा भूकम्पीय जोखिम न्युनीकरणमा मार्ग निर्देशन गर्ने बताए ।

रिपोर्टमा प्रमुख नतिजाहरूमा आधारित भएर भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी शिक्षा तथा जनचेतना अभिवृद्धि गरि भविष्यमा भूकम्पको कारण हुनसक्ने मृत्यु तथा चोटपटक घटाउनको निम्ति घर—घर सम्म पुर्याउनु पर्ने पारिवारिक तथा व्यक्तिगत तहमा र नीतिगत तथा सामुदायिक स्तरमा पालना गरिनु पर्नेबारे बिभिन्न सुझावहरू पनि दिइएको छ ।

 

अध्ययनको निष्कर्षको बारेमा बोल्दै बिपद् जोखिम ब्यवस्थापन बिज्ञ डा. गंगालाल तुलाधरले यो अध्ययनको निष्कर्षबाट आएका परिणामले नेपालमा भूकम्पीय जोखिम ब्यवस्थापन र  तथा जोखिम न्यूनीकरणको प्रयासमा मार्गदर्शन गर्ने बताए । सेभ द चिल्डेन निर्देशक कि जुली एलेनले बिपद जोखिम ब्यवस्थापन अन्तर्गत खोज तथा उद्धारको काम समुदायका सदस्यहरु मार्फत प्रभावकारी हुने भन्दै समुदाय स्तरबाटै उद्धारकर्ता निर्माण गर्न पूर्व तयारी गर्नुपर्ने बताईन् । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक नारायण सिंह खड्काले मानविय क्षति र चोटपटकका कारणहरु बारे प्राप्त निष्कर्षहरु सबै तहमा पुर्याउनु पर्ने बताए ।

 

शसस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक संजय बिक्रम राणाले भूकम्पीय लगायत बिभिन्न प्रकारका जोखिमबाट सूरक्षित रहने उपायको रुपमा व्यक्तिगत घर तथा भवनहरुमा सूरक्षा संकेतहरुको प्रयोग गर्नु पर्नेमा जोड दिए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका  कार्यकारी निर्देशक डा. आमोद मणी दीक्षितले यस्ता अध्ययानबाट प्राप्त भएका बैज्ञानिक नयाँ ज्ञानहरुले भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने बताए ।