सप्तरी तनहुँ र कैलालीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Posted on: December 23, 2017 | views: 1475
काठमाडौं । सप्तरी र तनहुँ र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ । राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरमा सोही दिशाबाट जाँदै गरेको स५प १७०३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनील मल्लले बताउनुभयो । त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ जाँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।