पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउन शुरु

Posted on: December 22, 2017 | views: 4167
पर्वत । लामो समयदेखि जिर्ण रहेको पोखरा–बागलुङ राजमार्ग बल्ल सुधार गर्न थालिएको छ । धवलागिरीका विभिन्न जिल्ला प्रवेशको यो राजमार्ग बिग्रेर लामो समयदेखि अस्तव्यस्त थियो । वर्षाैदेखि टालटुलको भरमा चल्दै आएको राजमार्ग यो पटक बल्ल वृहत रुपमा सुधार गर्न थालिएको छ । सडक विभाग अन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भारलाई गति दिएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख सुर्यबहादुर भाटका अनुसार राजमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न थालिएको छ । चारवटा प्याकेज बनाएर राजमार्ग मर्मतसम्भार सहित बिस्तार गर्न थालिएको भाटले बताए । भाटका अनुसार तीनवर्ष पोखरा–बागलुङ (७२ किलोमिटर) खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । ‘पोखरा–बागलुङ राजमार्ग साँघुरो हुदाँ तथा ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो । पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ । उनका अनुसार जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । केही खण्ड पुरा भईसकेको छ । त्यसपछि फेँदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेँदीदेखि घट्टेखोलासम्म ९ मिटर फराकिलो सडक बन्ने उनले बताए । ‘आगामि ३ वर्ष्भित्र पोखरा–बागलुङ सडकले नयाँ स्वरुप पाउनेछ भाटले बताए । उनका अनुसार यो राजमार्ग बिस्तार र स्तरोन्नती गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ । मर्मतसम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँपुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मतसम्भारले निर्माण सामाग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन । बिस्तारको क्रमसँगै सवारीको दोहोरो आउजाउ हुँदा काममा बाधा परेको छ । राजमार्गको काँडेदेखी नयाँपुलसम्मको करिब १२ किलोमिटर मार्ग सबैभन्दा बढी क्षतविक्षत भएको थियो । सडकमा ठुला–ठुला खाल्डा परेका थिए भने कतिपय ठाउँमा कालोपत्रे समेत उप्किएकोमा अहिले पुरै भत्काएर मर्मतसम्भार गर्न थालिएको छ । अन्यन्तै नाजुक बनिसकेको सडकमा जुनसुकै बेला ठुलो दुर्घटना हुने खतरा बढेको थियो । सडकमा परेका खाल्डामा वर्षायाममा पानी जम्ने हुँदा झनै जोखिम थियो । पटके मर्मतमा वर्षेनी लाखौं रकम खर्च भएपनि त्यसले प्रतिफल लिन सकेको थिएन । पोखरा–बागलुङ राजमार्ग करिब तीनदशक अघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०/५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।