राजमार्ग सुरक्षापोष्टमा प्रहरी बस्न छाडे

Posted on: December 16, 2017 | views: 1950

बाँके ।

बाँके र सागरनाथ जंगलमा रहेका राजमार्ग सुरक्षा पोष्टमा प्रहरी बस्न छाडेका छन् ।

नेपाल प्रहरीको राजमार्ग सुरक्षापोष्ट र सशस्त्र प्रहरीको बेश क्याम्पमा सुरक्षाकर्मी बस्न छाडेपछि सुरक्षापोष्टनै प्रयोगबिहिन बनेको छ ।

स्थानीय प्रशासनले पछिल्लो समय सुरक्षा चूनौति नरहेको भन्दै जंगल क्षेत्रमा रहेका सुरक्षापोष्ट प्रयोग नगरेपछि रातको समयमा यात्रा गर्नुपर्दा असुरक्षित महसुस भैरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

टेलिफोन नलाग्ने र जंगलजस्तो संवेदनशील ठाउँमा सुरक्षाकर्मी नहुँदा कुनै किसिमका घटना–दुर्घटना भैहाले उद्धारमा समस्या हुनेगरेको बाँके चौकका होटल व्यवसायी टलकबहादुर पुलामी मगरले बताउनुभयो ।

जंगल क्षेत्रमा प्रहरीको उपस्थिती पातलो हुँदा यात्रुहरुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् ।

तर ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले केहीवर्ष अघिसम्म जंगलक्षेत्रमा लुटपाटका घटना धेरै भएकाले सुरक्षापोष्ट स्थापना गरिएको भएपनि अहिले त्यस्ता घटनाहरु हुन छाडेको बताउनुभयो ।

उहाँले श्रीनगरतर्फ जाने बाँके चौकको सुरक्षापोष्ट र प्रहरी चौकी फूलजोरमा २४ सैँ घण्टा सुरक्षाकर्मी बसेर पहरा दिइरहेको बताउनुभयो ।