निर्वाचन आचारसंहिता पालना गर्न गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण

Posted on: November 11, 2017 | views: 2002

बर्दिया ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा समाचार सम्प्रेषणका क्रममा संवेदनशिलतालाई ध्यान दिन जिल्ला निर्वाचन कार्यालय बर्दियाले पत्रकारहरुलाई आग्रह गरेको छ ।

जिल्लामा कार्यरत पत्रकारहरुका लागि शनिवार गुलरियामा आयोजित निर्वाचन र सञ्चार विषयक तालिम उद्घाटन गर्दे जिल्ला निर्वाचन अधिकारी पवन शाहीले  संवेदनशिलतालाई ध्यान दिन आग्रह गर्नुभएको हो ।

शाहीले मङ्सिर २१मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि निर्वाचनमैत्री वातावरण सिर्जना गर्न तथा आचारसंहिता पालना गर्न गराउन सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

प्रमुख शाहीका अनुसार मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्या्दित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले  विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


निर्वाचनलाई सफल तुल्याउन सञ्चारक्षेत्रबाट खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै आगामी निर्वाचनलाई पनि सहज तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि निरन्तररुपमा सूचना सम्प्रेषण गरी राजनीतिक दललाई सजग गराउन र मतदातालाई सुसूचित गर्न आवश्यक रहेको शाहीले बताउनु भएको छ ।