जाजरकोटमा केन्द्र परिवर्तनको विरोधमा ताला बन्दी र सडक अवरुद्ध

Posted on: November 10, 2017 | views: 346
जाजरकोट । जाजरकोट स्थित छेडागाड नगरपालिकाको केन्द्र परिवर्तन गर्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । राजपत्र अनुसार मनघाटका कायम भएको नगरपालिकाको केन्द्र थलहबजार आसपास सार्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । ३ दिन देखि आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाको कार्यालयमा ताला बन्दी गर्नुका साथै सडक यातायात तथा संघ संस्था र बजार बन्द समेत गरेका छन् । जस्का कारण विद्यार्थी पढाईबाट बन्चित भएका छन् भने जनजीवन प्रभावित बनेको छ । आन्दोलनकारीले रुख ढालेर छेडा थलह सडक बन्द गरेपछि यात्रु अलपत्र परेका छन् । उनीहरुले मनघाट, थलह लगाएत बजार बन्द गरेका छन् । केन्द्र सार्न लागिएको भन्दै नगरपालिका १, २, ३, १२ र १३ वडाका स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाको विशेष नगरसभाले केन्द्र परिवर्तनको निर्णय गर्न लागेकोले आन्दोलनमा उत्रिएको कार्कीगाउका जयबहादुर कार्कीले बताउनु भयो । नगरसभाको निर्णय अनुसार नै केन्द्रको टुङ्गो लाग्ने नगरप्रमुख लालबहादुर महताराले बताउनु भएको छ । राजपत्रमा साविक कार्कीगाउ गाविसको मनघाटलाई केन्द्र लाई कायम भए पनि भूगोल अनुसार उक्त स्थान पायक नपर्ने नगरप्रमुख महताराको भनाइ छ । नगरवासी सबैलाई पायक पर्ने स्थानमा केन्द्र कायम हुने बताउनु भयो । एमालेबाट निर्वाचित नगरप्रमुख महतारा केन्द्र सार्ने पक्षमा र उप्रमुख सरीता वली भने मनघाटमै कायम गर्ने पक्षमा लबीङ्ग गरीरहेका छन् ।