खोटाङमा म्यादी प्रहरी छनौट, पत्रकारलाई निर्वाचन आचार संहिता प्रशिक्षण

Posted on: October 28, 2017 | views: 205

खोटाङ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले पत्रकारलाई निर्वाचन आचार संहिताका विषयमा प्रशिक्षण दिएको छ । निष्पक्ष र तटस्थ समाचार सम्प्रेष्ण गर्दै आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउनका लागि पत्रकारलाई आचार संहिताको विषयमा प्रशिक्षण दिइएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी पत्रकारलाई निर्वाचनमा स्वतन्त्र सञ्चार माध्यमको भूमिका, पत्रकार आचार संहिता, पत्रकारबाट निर्वाचन कार्यालयको अपेक्षा लगायतका बिषयमा जानकारी गराइएको छ ।

मतदात शिक्षा प्रत्येक नागरिक समक्ष पु¥याउन, निर्वाचन आचार संहितालाई अक्षरश पालन गर्ने वातावरण सिर्जना गर्न, स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषणका लागि पत्रकारलाई प्रोत्साहित गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 

प्रशिक्षण कार्यक्रममा जिल्ला तथा केन्द्रीय सञ्चार माध्यममका कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले निर्वाचनमा निष्पक्ष भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गनुभयो ।

‘पत्रकार वायस भए निर्वाचन नै प्रभावित हुने अवस्था आउन सक्छ, त्यही भएर तपाईहरुको भूमिका निष्पक्ष होस्,’ प्रजिअ अधिकारीले भन्नुभयो, ‘निर्वाचनका बेलामा पत्रकारको पेशागत धर्म निर्वाह होस् र पत्रकारिताको व्यवसायिकतामाथि प्रश्न नउठोस्, हाम्रो कामना यही छ ।’ 


म्यादी प्रहरी छानिए


आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले म्यादी प्रहरी छनौट गरेको छ ।

कडा प्रतिस्पर्धाबीच म्यादी प्रहरीमा खोटाङबाट ९ सय ८२ जना छनौट भएको जिल्ला प्रहरी कार्यालयले खोटाङले जनाएको छ । जसमा २ सय २६ जना महिला छन् । 

२ हजार २१ जनाको आवेदन परेपछि प्रहरीले प्रहरी जवानमा पार गर्नुपर्ने प्रारम्भिक प्रक्रिया सबै पुरा गरी छनौट गरेको प्रहरी निरीक्षक कृष्ण खडकाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक खडकाका अनुसार म्यादी प्रहरी बन्न प्रारम्भिक बेरिङ जाँच दौड, सेटअप, पुसअप, लिखित तथा स्थास्थ्य परिक्षण सहित अन्र्तवार्ता जस्ता कडा प्रक्रिया पार गरि छनौट भएका हुन् । शुक्रबार अन्तिम नतिजा प्रकाशित गरिएपछि आइतबारबाट नै उनीहरुलाई तालिम दिइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई डेढ हप्ताको तालिम दिइनेछ ।

जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालयहरुमा खटाई तालिम दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ५५ दिनका लागि छानिएका म्यादी प्रहरीले प्रहरी जवान सो सरह तलब रासन खर्च पाउनुका साथै थप केहि भत्ता उपलब्ध हुने प्रहरीले जनाएको छ ।