कांग्रेस,माओवादी केन्द्र : उम्मेदवार छनोट गर्न सकस

Posted on: August 30, 2017 | views: 289

प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक-दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

कांग्रेस
सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार टुंगो लगाए पनि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवार छनोट गर्ने छलफलमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगानालगायत सहभागी थिए ।

माओवादी केन्द्र
जनकपुरमा मंगलबार बसेको माओवादी केन्द्र केन्द्र्रीय सचिवालय सदस्यको बैठकले १५ भदौभित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । उम्मेदवार छनोट, चुनावमा सहकार्यलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको सचिवालयको बैठक जनकपुरमा बसेको थियो ।

तालमेल - संघीयता विरोधीहरूसँग चुनावी तालमेल नगर्ने केन्द्रीय नीतिअनुसार उसले त्यस प्रदेशभित्र एमाले र राप्रपासँग कही पनि चुनावी तालमेल नगर्ने नीति बनाएको छ ।  सत्ता सहकार्यमा रहेको कांग्रेस र मधेसी मुद्दामा सँगै रहेको राष्ट्रिय जनता पार्टी, मधेसी जनअधिकार फोरमलगायतसँग भने आवश्यकताका आधारमा तालमेल गर्ने नीति माओवादीको छ । 

एमाले
एमालेले ९० प्रतिशत उम्मेदवार छनोट गरिसकेको छ । एमालेले ५९ वटा गाउँपालिकाको उम्मेदवार टुंग्याइसकेको छ भने ७३ नगरपालिकाको उम्मेदवार घोषणा हुन बाँकी रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

राजपा 
दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई उम्मेदवार टुंगो लगाउन सकस भएको छ । उम्मेदवारका आकांक्षी धेरै देखिएपछि राजपालाई उम्मेदवार छान्न सकस भएको नेताले बताएका छन् ।
राजपाले केन्द्रीयस्तरका विशेष समिति बनाएर उम्मेदवार टुंगो लगाउने प्रयास गरेको छ । केन्द्रबाट खटिएका पदाधिकारीले १५ गतेसम्म उम्मेदवार छनोट गर्ने राजपाका प्रवक्ता सन्तोष मेहताले जानकारी दिए ।

फोरम नेपाल
संघीय समाजवादी फोरम नेपालले मंगलबार दुई नम्बरका अधिकांश ठाउँका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।फोरम नेपालको केन्द्रीय सचिवालयले मंगलबार वीरगन्जको मेयरमा व्यापारी विजय सरागवीलाई उठाएको छ ।

लोकतान्त्रिक फोरम
मधेस आन्दोलनताका मधेसीकै निशानामा परेको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले समेत २ नम्बर प्रदेशको उम्मेदवार एक-दुई दिनभित्रै टुंग्याउने तयारी गरेको छ ।

दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।