पत्रकार महाँसंघको अधिवेशन सुरु

Posted on: August 20, 2017 | views: 250

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण रहेने बताउनुभएको छ । 

‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्नुहुुदै प्रधानमन्त्री देउवाले देशमा सवैको सहकार्यमा आएको परिवर्तनको कार्यान्वयनका लागि सञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान हुनुपर्ने बताउनुुभयो ।

प्रधानमन्त्री देउवाले संबिधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्बाचन गर्नुपर्ने र त्यसमा सञ्चार जगतले समारात्मक भुमिका खेल्नुपर्ने हुने बताउनुभयो । 

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बस्नेतले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यादित बनाउनुपर्नेमा पनि जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार महाँसंघ पत्रकारको हकहितमा काम गर्ने संस्था भएको बताउदै आगामी दिनमा पनि महाँसंघ श्रमजिवी पत्रकारको हकहितमा लागिरहने बताउनुुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महत र नेकपा माओवादी केनद्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको वर्तमान समस्या समाधानका लागि दलहरूलाई मिलाउन  सञ्चारजगतले मद्दत गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि  एक लाख रुपियाँ रहेको छ । 

त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । 

त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । 

भोली सम्म चल्ने पत्रकार महाँसंघकोे महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।