चुरियाबारे राष्ट्रपतिज्यूलाई केही भन्न सकेको छैन-डा. रामवरण

Posted on: August 20, 2017 | views: 327
काठमाडौं । चुरे क्षेत्रमा भइरहेको अतिक्रमणलाई नरोक्ने हो भने आगामी १० वर्षमा ‘पानीयुद्ध’ हुन सक्ने पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रक्षेपण अनलाइनखबरमार्फत सार्वजनिक भइसकेको छ । आखिर चुरेको संरक्षण गर्ने कसरी ? डा. यादवकै कार्यकालमा एउटा राष्ट्रिय कार्यक्रमका रुपमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ अगाडि आएको थियो । यो कार्यक्रमको कपीराइट आफूसँगै रहेको डा. यादवले अनलाइनखबरलाई बताए । आफूले पहाडे र मधेसीलाई जोड्न र तराई मधेसको जनजीवन बचाउनका लागि यो कार्यक्रम अघि सारेको डा. यादवको भनाइ छ । तर, यो कार्यक्रम अहिले जसरी सुस्त गतिमा अघि बढेको छ, यसमा यादव सन्तुष्ट छैनन् । राष्ट्रपति कार्यालय, वन मन्त्रालय र योजना आयोगसम्मले चुरे संरक्षणबारे आफूसँग अहिलेसम्म कुनै परामर्श नलिएको पूर्वराष्ट्रपतिको भनाइ छ । चुरे संरक्षण लगायतका विषयमा डा. यादवसँग अनलाइनखबरले गरेको कुराकानी यस्तो छः आफू राष्ट्रपति बनेकै बेला ‘चुरे संरक्षण’ अभियान चलाउनुपर्छ भन्ने तपाईको दिमागमा कसरी आयो ? मैले सोचें कि चुरियालाई संरक्षण गर्‍यो भने ६० प्रतिशत नेपाली जनतालाई फाइदा हुन्छ । चुरियाको माटो बचायो भने त्यहाँको जमीन बच्छ । जंगल बच्छ । जंगल बच्यो भने पानीको स्रोत बच्छ । पानीको स्रोत बच्यो भने तल बोर्डरसम्मै जल र जीवन बच्छ । मानवीय दृष्टिकोणले त्यहाँ पहाडे र मधेसी मिलेर बसेका छन् । त्यहाँ हाम्रो प्रकृतिको संरक्षण भयो भने हाम्रो समुदायवीचमा समन्वय पनि हुँदै जान्छ र जीवनयापन पनि राम्रो हुँदै जान्छ । यही सोचेर मैले चुरे संरक्षणमा फोकस गरेको हुँ । मैले आफ्नो अनुभवले देखेको हो । जुन बाटोबाट तपाई हिँड्नुभएको छ, त्यो बाटोमा तपाईलाई थाहा हुन्छ कि खाल्डाखुल्डी र काँडाहरु कहाँनेर छन् । म त आफू त्यही बाटोबाट हिँडेको हुनाले यही अनुभवले सिकाएर मैले आफूले यो काम गरेको हो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम थालनी गर्दाको पृष्ठभूमि कस्तो थियो ? मैले विज्ञहरुलाई बोलाएर यो चुरियालाई कसरी संरक्षण गर्ने भनेर सोधेंं । त्यसबेला रामेश्वर खनाल अर्थसचिव हुनुहुन्थ्यो । मैले उहाँलाई भनें- ओ सचिवजी, यत्रो चुरिया खन्ने काम भइराखेको छ, तपाई अर्थसचिव हुनुहुन्छ, अर्थमन्त्रीलाई भनेर यसमा २/४ सय प्रतिशत ट्याक्स लगाउनोस् न । तराईको ढुंगा, माटो र जंगल त सखाप भइ नै गयो, अब चुरियाको ढुंगा माटो खनेर गइराखेको छ । अब यसमाथि बञ्देज लगाउनु न । तपाईले यसो भनिरहँदा रामेश्वरजीको प्रतिक्रिया के थियो ? खनालजीसँग धेरै डिटेलमा कुरा भयो । छलफल गर्दा उहाँले भन्नुभयो कि हजुर यसमा ट्याक्स-स्याक्स मात्रै लगाएर हुँदैन, यो त धेरै ठूलो कुरा हो । यसबारे तपाईले एकचोटि मन्त्रीलाई कन्भिन्स गर्नोस् । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुहुन्थ्यो । मैले उहाँलाई बोलाएँ । घण्टौं छलफल भयो । मैले आफ्ना अनुभव सारा बताएँ । त्यसपछि उहाँ पनि कन्भिन्स हुनुभयो । पाण्डेले के भन्नुभयो ? उहाँले यसबारेमा एकपल्ट प्रधानमन्त्रीजीसँग कुरा गर्नोस् भन्नुभयो । त्यसपछि मैले सम्माननीय प्रधानमन्त्री माधव नेपालजीलाई भनें- प्रधानमन्त्रीजी, तपाई र म दुईजना मधेसी होइन ? तपाईका पिताजी संस्कृतका विद्वान हुनुहुन्थ्यो, मास्टर हुनुभो । मेरा पिताजी सामान्य पढेलेखेको किसान हुनुहुन्थ्यो । मेरा काकाले भैंसी हेर्नुहुन्थ्यो । म किसान परिवारको मानिस, तपाई पण्डित परिवारको मानिस । अब ६० प्रतिशत जनसंख्या र ३५ प्रतिशत भूमिलाई बचाउनका लागि काम गरौं । तपाई प्रधानमन्त्री हुनुहुन्छ, म देशको राष्ट्रपति छु । हामी एउटै बेल्टका । यो हाम्रो सौभाग्य हो कि हामी दुईजनाले यो तराई र पहाडको चुरे भूभागलाई बचायौं भने यो त स्वर्ग हुन्छ । यो हिजो स्वर्ग थियो, आज नर्क भइराखेको छ । मैले आफूले जति बुझेको थिएँ, त्यति व्याख्या गरें । उहाँ कन्भिन्स हुनुभयो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कसरी राष्ट्रिय कार्यक्रममा समावेश भयो ? एकदिन रामेश्वर खनालजीले आएर भन्नुभयो कि राष्ट्रपतिका नाममा चुरे संरक्षणलाई नीति र कार्यक्रममा राख्छु । ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रम राख्छु भन्नुभयो । मैले मेरो नाम नराख्नोस् है, आफ्नै नाम रखाउनका लागि राष्ट्रपतिले यस्तो गरेको छ भन्ने पर्न सक्छ भनें । उहाँले भन्नुभयो कि जबसम्म राष्ट्र रहन्छ, तबसम्म राष्ट्रपति रहन्छ । राष्ट्रपति भनेको त संस्था हो । राष्ट्रपति रामवरण यादवको नाममा राख्ने होइन, राष्ट्रपतिका नाममा राख्ने हो । यसरी उच्च संस्थाको नाम राखियो भने मान्छेहरुको ध्यान आकृष्ट हुन्छ । भोलि राष्ट्रिय अन्तरराष्ट्रिय फण्डको जरुरत पर्ला । यसमा त खर्बौं रुपैयाँ लाग्न सक्छ । त्यसले गर्दा यसमा हजुरको नाम हुँदैन, राष्ट्रपति चुरे संरक्षण हुन्छ । यसरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आयो । पछि यसमा सबैलाई समेट्नका लागि राष्ट्रपति चुरे, तराई मधेस संरक्षण भनेर महेश आचार्यजीहरुका पालामा राखियो । त्यसपछि सरकारले यो कार्यक्रम सुरु गरेको हो । उसोभए चुरे संरक्षण अभियानको पहलकर्ता डा. रामवरण यादव हो भन्दा फरक पर्दैन ? एकदमै । यो मेरो ओरिजिनल हो । तपाईलाई भनौं- यसमा मेरो कपीराइट छ । पहाडे-मधेसी मिलेर जाऔं । म महापुरुष हैन, एउटा साधारण परिवारको मान्छे हुँ । देशवासीले स्वीकार गरेर देशको राष्ट्रपति भएँ । यो कार्यक्रममा मेरो कपीराइट किन छ भने पहाडे मधेसी मिलेर जाऔं, यसले गर्दा राष्ट्र जोगिन्छ, राष्ट्र बलियो हुन्छ र राष्ट्रिय एकता कायम हुन्छ भन्ने मान्छे हुँ म । अर्को, यो चुरिया संरक्षण गर भनेर सरकारलाई कन्भिन्स गरेर मैले राष्ट्रिय कार्यक्रममा पारें । म फेलियर भएको एउटै के हो भने सात वर्ष राष्ट्रपति भएर बस्दा उहाँहरुलाई कन्भिन्स गरेर ऐन बनाउन सकिनँ । अहिले यो एउटा समिति मार्फतमात्रै चलिरहेको छ । तर, यो एउटा यस्तो प्रोजेक्ट हो, यसमा ऐन बनाउन करै लाग्छ । तपाईले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम त ल्याउनुभयो । तर, यसबारे अहिले भइरहेको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ? तपाईले सोच्नुभएको भिजनअनुसार नै काम भइरहेको छ । कि यसमा पनि वर्षेनी बजेट घोषणा गर्ने र भ्रष्टाचार गर्ने घून पसिसक्यो ? यो कार्यक्रमको सुरुवात भयो । मलाई पनि दुई वर्षसम्म त कन्भिन्स गर्नै लाग्यो । त्यसपछि फर्मेसन भएको ५/७ वर्ष भयो । दुई-तीन वर्ष यो घिस्रेर गयो । त्यसपछि, रामेश्वर खनालको नेतृत्वमा एउटा समिति बनेपछि त्यो टीमले २० वर्षको मास्टर प्लान बनायो । र, कामहरु अलिकता वैज्ञानिक तरिकाले हुन थाले । त्यो टीम गएपछि अहिले जुन टीम आएको छ, मलाई लाग्छ कि त्यसले राम्रोसँग यो कार्यक्रमको भेउ पाइराखेको छैन । त्यसैले अहिले त्यति राम्रोसँग काम अगाडि बढिराखेको छैन ।