३१० स्वास्थ्य संस्था अझै पालमुनि, संक्रमण फैलने खतरा

Posted on: August 20, 2017 | views: 314

भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि अझै ३१० वटा स्वास्थ्य संस्था पालमुनि सञ्चालन भइरहेका छन् । १२ वैशाख २०७२ मा गएको भूकम्पमा ४५० वटा स्वास्थ्य संस्थामा पूर्णरूपमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति भएका ३१ जिल्लाका स्वास्थ्य संस्थाको मूल्यांकन गर्दा ५५० स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले जानकारी दिए । तर, समयमै पुनर्निर्माण नहुँदा अधिकांश स्थास्थ्य संस्थाले अझै पालमुनिबाटै सेवा दिन बाध्य छन् ।


३७० पुनर्निर्माणका लागि सम्झौता, तर २४० मात्रै बने

विभिन्न संघ–संस्थाले ३७० स्वास्थ्य संस्था पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गरेका थिए । जसमध्ये २४० स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले जानकारी दिए । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि अल्पकालीन र मध्यकालीन रणनीतिअनुसार निर्माण कार्य भइरहेको बताए । स्वास्थ्य संस्था पुनर्निर्माण गर्दा अस्थायी प्रिफ्याब मोडलका भवन बनाउने भनिएको थियो । ‘मन्त्रिपरिषद्को ८ जेठको निर्णयअनुसार स्थायी पक्की भवन बनाउने भएका छौँ । स्वास्थ्य संस्थाको भवन पुनर्निर्माणका विभिन्न डिजाइन स्वीकृत भइसकेका छन्, अब त्यहीअनुसार बन्नेछन्,’ उनले भने ।


संक्रमण फैलने खतरा 

बिरामीलाई पालमुनि स्वास्थ्य सेवा दिँदा विभिन्न संक्रमण फैलने जोखिम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । जिल्ला अस्पताल रसुवाकी नर्स रूपा केसीले दुई वर्षदेखि पालमुनि सेवा दिँदै आएको बताउँदै यसले सेवामा भन्दा जोखिमलाई बढावा दिएको बताइन् । ‘पालमुनि त्यसै चिसो हुन्छ, अझ पानी परेको समयमा भित्रै पस्ने भएकाले सबै बेड भिज्छन् । यस्तो अवस्थामा वृद्धवृद्धा र बच्चाको स्वास्थ्यमा थप समस्या देखिने गरेको छ,’ उनले भनिन् ।


जिल्ला अस्पताल रसुवामा दैनिक २० जना बिरामी ओपिडीमा आउने गरेका छन् । जसमध्ये सातजना भर्ना हुने गरेका छन् । ‘स्थान अभाव छ,’ उनले भनिन्, ‘खुला रूपमा पालभित्र उपचार गर्नुपर्ने भएकाले संक्रमण निम्तन सक्ने खतरा बढी छ ।’


बिर्दिम स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट पशुपति देवले स्वास्थ्यकर्मी आफैँ पालमुनि सुरक्षित नभएको बताए । ‘तैपनि जोखिम मोलेर स्वास्थ्यकर्मीले काम गर्नुपरेको छ । बिरामीलाई गुणस्तरीय सेवा दिन समस्या भएको छ,’ उनले भने । नयाँ भवन बन्दै गरेकाले केही समयमा उपचार सेवा सहज हुने उनको विश्वास छ ।


पुनर्निर्माणमा देखिएका समस्या

स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश अधिकारीले जनशक्तिको अभावकै कारण पुनर्निर्माणमा ढिलाइ भइरहेको बताए । कतिपय स्वास्थ्य संस्था पुनर्निर्माणका लागि आवश्यक पर्ने जमिनसमेत उपलब्ध छैन । ‘विभिन्न संघसंस्थाबाट पुनर्निर्माण गरिने भनिए पनि समयसीमाभित्र सम्पन्न गर्न कठिन छ,’ उनले भने ।