१२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या

Posted on: August 16, 2017 | views: 714
धनुषा । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ । आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार गएको बेला उक्त घटना भएको बताइएको छ । दुई दिदिबहिनी घरमा मात्र भएको देखेर रामचन्द्रले बहिनी पुष्पालाई केही किनेर ल्याउ भनेर पसलमा पठाएका थिए । पुष्पाले आफू पसलबाट फर्केलगत्तै घरको मूल ढोकामा आउँदा दिदीले चिच्याइरहेकाको आवाज सुनेको बताइन् । पुष्पाले भनिन्, ‘मैले ढोका ढक्ढकाएँ, खोल्न भनि चिच्याएँ तर ढोका खोलिएन अनि एकछिन पछि दिदीको आवाज आउन रोकियो ।’ पुष्पाले चिच्याएको सुनेर वरिपरिका छिमेकी जम्मा भए र त्यतिबेलासम्म आमा विमला पनि आइसकेकी थिइन् । सबैले ढोका फुटाउन खोजेपछि रामचन्द्रले ढोका खोले । ढोका खोलिएपछि जम्मा भएका सबै छिमेकीसहितले विविकालाई घरभित्र खोज्दा कतै नभेटिएपछि कसैको नजर रामचन्द्र बस्ने कोठाको ओछ्यान छेउमा रहेको जस्ताको बाकसमा पर्न गयो । त्यो खोल्न थालेपछि रामचन्द्रले पहिले खोल्न दिइरहेका थिएनन् अनि झन शंका लागेर त्यो बाकस जबर्जस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाइएको अवस्थामा भेटियो । घटनाबारे सबै झर्लङ्गै थियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको प्रकृति मुचुल्कापश्चात् शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाएर रामचन्द्र र उनकी श्रीमती पवितालाई पक्राउ गरेको छ ।