किन नेपाल आउँदैछन् चिनियाँ उपप्रधानमन्त्री

Posted on: August 14, 2017 | views: 3369

काठमाडौं । पाकिस्तानको बाटो हुँदै सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल बसाइको खासै व्यस्त कार्यसूची छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राजनीतिक दलका शीर्ष नेताहरुसँगको शिष्टाचार भेट र वार्तालाप बाहेकका दुईवटा कार्यक्रममा मात्रै चिनियाँ उपप्रधानमन्त्री सहभागी हुनेछन् ।

काठमाडौंको बसाइमा वाङले बसन्तपुरस्थित नौ तले दरबार पुनर्निर्माणको शिलान्यास र कीर्तिपुरमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भ्रमण गर्नेछन् ।

यद्यपि, बसन्तपुर दरबार क्षेत्र र कीर्तिपुर नगरजस्ता ऐतिहासिक सम्पदाको फेरो मार्न मात्रै उनी काठमाडौं आएका होइनन् भन्ने सन्देश यसअघि आइतबार र सोमबार गरेको पाकिस्तानको रणनीतिक यात्राबाटै दिइसकेका छन् ।

६२ वर्षीय उपप्रधानमन्त्री वाङ याङ शहरी मजदुर परिवारमा जन्मेका हुन् । उनले आफैं पनि सन् १९७२ देखि १९७६ सम्म एउटा खाद्य कारखानामा काम गरे । यही क्रममा उनी सन् १९७५ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बने, जतिबेला उनी २० वर्षका थिए ।

राजनीतिक अर्थशास्त्रका अध्येता वाङले सन् १९७९ मा केन्द्रीय पार्टी स्कुलमा देङ स्याओपिङको आर्थिक सुधार सम्बन्धी अध्ययन गरे । त्यसपछि आफ्नो गाउँ फर्केर सन् १९८८ सम्म पार्टीको युवा संगठन तथा खेलकुद ब्युरोमा समेत काम गरे ।

पार्टी उपसचिव पदबाट नगर प्रशासनमा काम गरेका वाङले राष्ट्रिय विकास तथा सुधार आयोगमार्फत् सन् २००३ देखि केन्द्रीय सरकारमा आवद्धता थालेका हुन् ।

उपप्रधानमन्त्री वाङलाई चीन- अमेरिका सम्बन्धका जानकारका रुपमा समेत हेर्ने गरिएको छ । हँसिला र जनसम्पर्कमा सिपालु नेता मानिने वाङले चीन र अमेरिकाको सम्बन्धलाई ‘विवाहित जोडी’ जस्तै बताउने गरेका छन् । र, यो जोडीले आपसमा सम्बन्धविच्छेद गर्न नहुने तर अमेरिकाको समलिङ्गी विवाहसँग डराउनुपर्ने बताउने गरेका छन् ।

नेपाल भ्रमणको अर्थ राजनीति

नेपाल र पाकिस्तान दुबै चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको फराकिलो विश्व व्यवस्था ‘बेल्ट एन्ड रोड इनीसीएटीभ’ (बीआरआई)को हिस्सा बनिसकेका छन् । र, ‘वान बेल्ट वान रोड’ (ओबीओआर) संज्ञा दिइएको उक्त रणनीतिलाई राष्ट्रपति सीले आफ्नो मुलुकको प्रतिष्ठाको विषय बनाएका छन् ।

स्थापनाको ७० वर्षभरि नै पाकिस्तानको भारतसँग सर्वाधिक अप्ठ्यारो सम्बन्ध छ । सूक्ष्म व्यवस्थापनको सूत्र अवलम्वन गरेका कारण नेपालमा पनि भारतको लोकपि्रयताको विन्दु तल्लो अवस्थितिमै छ । ओबीओआरमा भारतले सहमति जनाएको छैन । र, अमेरिका, रुस र जापानसँग मिलेर अलग्गै विश्व व्यवस्थामा प्रवेश गर्ने अभ्यासमा छ, भारत ।

चिनियाँ उपप्रधानमन्त्री वाङको इस्लामावाद र काठमाडौं भ्रमणको अर्को आयाम पनि छ । चीन-भुटान सीमा विवादको ‘नो इन्ट्री जोन’ मा प्रवेश गरेर भारतले चीनलाई चिढ्याएको मात्र छैन, आफ्नो सीमा नै नजोडिएको दोक्लाम इलाकास्थित चिनियाँ भूभागमा सेनालाई प्रवेश गराएर तनावको पारो चढाइदिएको छ । अहिले भारतीय र चिनियाँ सेना परम्परागत सीमायुद्धकै झल्को दिने गरी दोक्लाममा आमने-सामने बनेका छन् ।

संयोगवस, भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तथा मन्त्रिपरिषद् सचिवालयका पूर्वअतिरिक्त सचिव जयदेव रानाडे चिनियाँ उपप्रधानमन्त्री वाङको भ्रमणको पूर्वसन्ध्यामा सुटुक्क काठमाडौं उत्रिएका छन् । नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्ष समेत रहेका उनी एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन आएका हुन् ।

र, यही विन्दुमा जोडिन्छ, दोक्लाम तनावको सन्दर्भमा दुवै छिमेकीले नेपाललाई आफ्नो वृत्तमा तान्ने प्रयत्न गर्ने आशंका ।

काठमाडौं बसाइ र भेटघाटका क्रममा उपप्रधानमन्त्री वाङले दोक्लाम प्रकरणमा नेपाली पक्षको बुझाइबारे धरातलीय ‘एसेस्मेन्ट’ तयार पार्ने र बेइजिङ फर्किनासाथ राष्ट्रपति सीलाई व्याख्या गर्ने निश्चित छ । कतै रानाडेको काठमाडौं बसाइ पनि त्यस्तै ‘एसेस्मेन्ट’ तयार पार्ने उद्देश्यबाट त प्रेरित छैन ? प्रश्न अनुत्तरित छ ।

‘नेपाललाई कसैले आफ्नो पक्षमा तान्ने प्रयास गर्नु हुँदैन र हामी त्यसमा फस्नु पनि हुँदैन,’ चीनका लागि पूर्वराजदूत टंक कार्की भन्छन् ।

एसियाका उदाउँदा अर्थतन्त्रबीचको यो तनाव सहजै साम्य हुने लक्षण नदेखिइरहेको सन्दर्भमा दक्षिण एसियाका दुई प्रभावशाली मुलुक नेपाल र पाकिस्तानमा चार दिन बिताउने चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण तालिकाको रणनीतिक महत्व कमजोर देखिँदैन । अझ, उनी स्वदेश फर्किएको ठ्याक्कै सातौं दिन (७ भदौमा) प्रधानमन्त्री देउवा पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमणमा नयाँदिल्ली पुग्दैछन् । त्यस क्रममा देउवाले दक्षिणी छिमेकीसँग गर्ने सहमति र सम्झौताप्रति चिनियाँ चासो ह्वात्तै बढेको छ ।

चार वर्षयताका तीनजना प्रधानमन्त्रीले चीनसँग तीन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । सुशील कोइरालाका पालामा एसियाली पूर्वाधार विकास बैंक, केपी ओलीले पारवहन र यातायात तथा पुष्पकमल दाहालले ओबीओआर परियोजनामा प्रवेश गर्ने सम्झौता गरेका छन् । ‘सम्झौता गर्ने तर कार्यान्वयनको पाटोमा सुस्त देखिने नेपाली शैलीबारे चिनियाँहरु अनभिज्ञ छैनन् । तिनै सम्झौता कार्यान्वयनको गति बढाउन उच्चस्तरीय भ्रमण भएको हुन सक्छ,’ परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डे भन्छन् ।

प्रधानमन्त्री ली खछ्याङको मन्त्रिपरिषदका चार उपप्रधानमन्त्रीमध्ये तेस्रो वरियताका हुन्, वाङ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसहित उनको जिम्मेवारी कृषि, जलस्रोत, व्यापार र पर्यटन क्षेत्र हेर्ने हो ।

तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले ३० पुस ०६८ मा गरेको पाँच घण्टे काठमाडौं यात्रापछि नेपाल आएका सबैभन्दा उच्च चिनियाँ अधिकारी हुन्, वाङ ।