सेनाविरुद्ध खनिए पर्वतको दुर्लुङका वासिन्दा

Posted on: August 12, 2017 | views: 420

कुश्मा ।

नेपाली सेनाको रणदल गुल्मले पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुंङ स्थित गिजेतमा खरिद गर्न लागेको जग्गाको बिरुद्धमा स्थानिय आन्दोलित बनेका छन् । नेपाली सेनाले स्थापना गर्न लागेको फायरिङ्ग रेञ्ज नराख्न माग गर्दै कुश्मा नगरपालिका ३ का बासिन्दा आन्दोलित बनेका हुन् । 

नेपाली सेनाले स्थानियवासीको सहमति विपरित फायरिंङ रेञ्ज खडा गर्न लागेको भन्दै उनिहरुले विरोध जनाएका हुन । हाल पर्वत सदरमुकाम कुश्मा बजार नजिकै कुश्मा नगरपालिका ७ गोदाममा रहेको ब्यारेकका लागि जमिन अभाब भएपछि कुस्मा नगरपालिका– ३ मा सार्ने तथा तालिम केन्द्र बनाउने तयारी भैरहेकोे थियो ।

उक्त स्थानमा रहेको ३ सय रोपनी भन्दा बढि खेतियोग्य जमिन समेत मासिने, झण्डै ८५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक बन समेत मासिने भएकाले पनि सेनाविरुद्ध स्थानिय आन्दोलित बनेका हुन् । बिहीवार स्थानियले प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेपाली सेनाको तालिम केन्द्रमा हुने दैनिकजसोको फायरिङ्गले स्थानियस्तरको बातावरणमा प्रत्यक्ष असर पर्ने तथा बन र बन्यजस्तु सँगै पर्यटन विकासमा समेत बाधा पुग्ने भएकाले उक्त कार्य तत्काल रोक्न माग गरिएको चनौटे सामुदायिक बनका अध्यक्ष नरजंग गुरुङले बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाली सेना, स्थानिय जग्गा दाता र फायरिङ्ग रेञ्जको बिरुद्धका रहेका स्थानियवासीहरुबीच छलफल गरेर अघि बढ्न आग्रह गरेको बताउनुभयो । नेपाली सेना रणदल गुल्मका गुल्मपति मदनजंग कार्किले सरकारी जग्गाको अभावले नेपाली सेनाका लागि आवश्यक जग्गा लिने प्रकृया थालनी भएको बताउनुभयो ।