दोलखामा भैरबकुमारीको जात्रा

Posted on: August 11, 2017 | views: 344

चरिकोट ।

ऐतिहाँसीक तथा प्राचिन नगरी भनेर चिनिने पौराणिक सहर दोलखामा पाँच दिने भैरबकुमारीको जात्रा बुधबारबाट सुरु भएको छ । जात्राको आज तेस्र्रो दिन शिब पार्बतीको रुपमा मारुनिहरुले भब्य प्रस्तुतीका साथ बजार परिक्रमा गर्ने छन् । 

विभिन्न बाजागाजा र पौराणिक महत्वका साथ सुरु भएको भैरबकुमारीको जात्रा हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि ५ दिन अर्थात 'षष्टी' तिथीको रातीसम्म लाग्ने प्रचलन छ । यो  जात्रा विगत ५ सय वर्षदेखी लाग्दै आएको स्थानीयहरुले बताएका छन् । 

ऐतिहाँसीक सहर दोलखाको विषयमा लामो समयदेखी अध्ययन गरिरहेका स्थानीय संस्कृति सम्बन्धी जानकार शान्तकृष्ण श्रेस्ठका अनुसार भिमेश्वर मन्दिर नजिकै रहेको त्रीपुरा सुन्दरीकी कान्छी बहिनीका रुपमा भैरब कुमारी लाई मानिदै आएको छ । ३ दिदि बहिनीमध्ये जेठी त्रिपुरासुन्दरी माइली कालिञ्चोक भगवती र कान्छी भैरबकुमारी रहेको किम्बदन्ती छ उनले भने-‘ सबै दिदि बहिनी मध्ये भैरबकुमारी उद्धण्ड स्वभाबकी भएकाले जेठी त्रिपुरा सुन्दरीले आफु बसेको स्थान भन्दा केही तल कुमारी मन्दिरमा फलामको साङ्लोले बाँधेर राखेकी थिइन्’ । पछि त्रेता युगमा गुभाजु भनिने एक धार्मीक श्रस्टाले कुमारीलाई राक्षसको रुपमा पुजा आजा गर्न थालेपछि कुमारी प्रकट भएर आफु राक्षस नभएको बताएपछि  तान्त्रिकले बाँधेर राखेकी भैरब कुमारीलाई फुकाएर ५ दिन सम्म सहर परिक्रमा गराएको दिनलाई जात्राको रुपमा मनाइदै आएको इतिहाँस छ । 

श्रेष्ठका अनुसार  दोलखामा मात्र मनाउदै आएको भैरबकुमारीको जात्रा नेवारी समुदायको शिबभक्ति जातका मानिसहरुले मात्र निकाल्ने गर्छन । दोलखा बजारको दुंगल टोलमा बसोबास गर्ने शिबभक्तिहरु २५ घरपरिवार भएको उनले बताए । भैरबकुमारी जात्रा निकाल्ने यो समुदाय देशैभर अन्यत्र नभएको पनि उनको भनाई छ । 

भैरबकुमारीको जात्रा हेर्न जिल्लाका विभिन्न स्थानबाट मानिसहरु पौराणिक सहर दोलखा आउने गर्दछन् । जात्रामा ब्रत बसे मनोकामना पूरा हुने जनविश्वास छ । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थाल खचाखच हुने गर्दछ ।

तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत बस्ने महिलाहरु दिनभर नखाई टासिचाटोलको गुठीघरमा भेला हुन्छन् । साँझ परेपछि बुढी आमा, भैरब, कुमारीलगायत सेनामेनाहरु सिगारेर लहरै बस्छन् । कुमारी विभिन्न सेनामेनासहित भै दोलखा बजारको विभिन्न टोलहरुमा पाँच दिनसमम्म परिक्रमा गर्ने प्रचलन छ ।  पुजाको विधि सकिएपछि सिगारिएर बसेका मकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ ।  स्थानीय बाजागाजासहित भैरव र कुमारीलगायत ३२ जनाको समूह युद्धको शैलीमा विभिन्न टोलको डबलीमा नाच्दै सहरको परिक्रमा गर्ने परम्परा रहेको पुजारीहरु बताउछन् ।