म करोडपतिबाट यसरी रोडपति

Posted on: August 10, 2017 | views: 1160

काठमाण्डौ । हिजोको दिन सम्झदा भतभती छाती पोल्छ । पीडा हुन्छ । कुनैबेला चितवनमा गनिएको करोडपति म, सहकारी र बदमासहरुका कारण आज सडकमा आइपुगेको छु । अरुका घरमा भाडामा बस्ने अवस्थामा आइपुगेको छु । मेरो सोझो सिधापनाको फाइदा उठाएर मेरो र परिवारको बिल्लीवाँठ पार्ने ठग सहकारी सञ्चालकहरुलाई कारबाही होस ।

अहिले बैंक भन्दा जब्बर भएर उदाएका छन् सहकारी । जसरी सुधीर बस्नेतले सहकारीमार्फत हजारौं सर्वसाधारणहरुलाई ठगे ठीक उही ढंगले लुटिए, बर्वाद भएँ म सहकारीकै कारण । यसरी मलाई घर न घाटको अवस्थामा पुर्याइदिने सहकारी हो ललितपुरको मानभवनमा रहेको जय अम्बे बचत तथा ऋण सहकारी संस्था । र, सो संस्थाका दुई टाउकाहरु नबिन बस्नेत र सञ्चालक तथा कर्जा प्रमुख शैलेन्द्रकुमार श्रेष्ठकै कारण आज मेरो बिल्लीवाठ भएको छ ।

म पेशाले व्यापारी । चितवनको नारायणगढमा नाम चलेको व्यापारी । कैलाश खाद्य स्टोर सञ्चालन गर्दै आएको थिएँ । यस्का साथसाथै जग्गाको कारोवार समेत गर्दै आएको थिएँ । त्यहाँका स्थानीयहरुको मप्रति यति अगाध विश्वास र प्रेम थियो कि बरु उहाँहरुको बैंकप्रति अविश्वास थियो, मप्रति त्यति विश्वाश थियो । हाम्रो पैसा सुरक्षित राखिदिनुहोस भन्दै पैसा दिन आउँथे । नाम, दाम सबै कमाइएको थियो । सँधै नियममा कहाँ चल्दो रहेछ र जिन्दगी ? सबै हिसाबले सम्पन्न थिएँ । कैलाश खाद्य उद्योग सञ्चालनका लागि ऋण आवश्यक परेको हुँदा नेपाल बैंकबाट ५ लाख ऋण लिएँ । यही समयमा भेट भएको हो, गुणबहादुर थापा उर्फ शम्भु थापासँग भेट भएको हो ।

उनीहरुसँग काम गर्दा जग्गाको कारोबार गर्ने र अझैं नाफा कमाउने हेतुले जुन स्थानमा मिल थियो । सोही मिल धितोमा राखेर नेपाल शेयर मार्केट २० लाख रुपैंया ऋण लिइयो । फेरि अर्काे बैंकसँग ४० लाख ऋण लिइयो । पछि शिखर फाइनान्ससँग १ करोड ४० लाख रुपैंया ऋण लिइयो । तर पार्टनरसिपमा लिइएको ऋणमा पार्टनरलाई पोस्ने मात्र काम भयो । लगानी गरेको रकम समेत उठाउन सकिएन । बीचमा उनीसँग विवाद भयो र ६८ सालमा उनको नाममा रहेको जग्गा जस्को बजारमुल्य ७० लाखको हाराहारीमा थियो । सोही जग्गा लिएर हिसाब मिलान गरियो । यसरी शम्भुको कारण खनिएको खाल्डोमा दिन प्रतिदिन पुरिदै गएँ । बैंकका व्याज चढ्दै जाने तर तिर्न नसक्ने अवस्थामा पुगेँ । सोही ऋणको व्याज शिखर फाइनान्सलाई पटक पटक गरी व्याज मात्रै एक करोडभन्दा बढी तिरिसकेको थिएँ । तर साँवा तिर्न नसकेपछि साबिक नारायणगढमा ८, हाल भरतपुर वडा नम्बर ५ मा रहेको बैकुन्ठ चोकमा रहेको कैलाश खाद्य उद्योग रहेको ११९४ र ११९६ कित्ता नम्बर १९ धुर, कठार गाविस वडा नम्बर ७ ख कित्ता नम्बर २१ को १० कठ्ठा, चैनपुर २ खमा रहेको ३२६ किता नम्बरमा रहेको २ कठ्ठा, ६ घ को किता नम्बर ६ र ७, जवि १ कठ्ठा १४ धुर र २ कठ्ठा ५ धुर, ४ खको किता नम्बर ३८६ र २०१४ को ३ कठ्ठा १४ धुर र ३ कठ्ठा ९ धुर, खैरेनी ३ घ मा रहेको ३९२, ३८२ कित्ता नम्बर ३ कठ्ठा १२ धुर र २ कठ्ठा १९ धुर, हाजिपुर ६ क कित्ता नम्बर १८०६ मा रहेको ४ कठ्ठा ६ धुर,बिरेन्द्रनगर ८ कित्ता नम्बर २५, १५२, १५८ गरी ३ बिघा ११ कठ्ठा २ धुर जग्गा बैंकको कव्जामा गयो ।

बैंकसँग गरिएको सहमति अनुसार उक्त बैंकलाई एक करोड ५० लाख रुपैंया साँवा व्याजसहित बुझाउने शर्त थियो । पटकपटक गरी झण्डै एक करोड रुपैंया व्याज मात्रै बुझाएँ । जब माओवादी शान्ति प्रक्रियामा आउँदा घरजग्गा कारोबार ह्वात्तै चुलियो । अनुत्पादक क्षेत्रमा लगानी बढेसँगै तत्कालीन गभर्नर युवराज खतिवडाले यसमा कडाई गरेपछि व्यवसायमा मन्दी आउँदै गयो । दुईतिरको धारमा पुगे म । बैंकले दिन प्रतिदिन च्याप्न थाल्यो । कबोल गरे अनुसारको रकम बुझाउन नसकेपछि बैंकले जग्गा लिलामी गर्यो । खाएको विषसम्म त ठीकै थियो । जीवनमा नखाएको विष लाग्यो । यो बीचमा शिखर फाइनान्स काष्ठमाण्डप बैंकमा मर्ज भइसकेको थियो । मैले काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेँ । र, सो मुद्धामा पुनरावेदन अदालत पाटनले हामी दुबै बीच मिलापत्र गरायो । २०७३ साल असोज ११ गते बैंकसँग मिलापत्र भयो । मेरो दुख पसिना आर्जेर कमाएको सम्पत्ति पुनः मेरै नाममा फिर्ता आयो ।

तावाबाट उम्किएको माछो भुँग्रोमा भनेझैं नियति भयो फेरि । एउटाका जालझेलका कारण म वार्वद भएर सिद्धिएको थिएँ । त्यही बीचमा भेटिए, जय अम्बे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक शैलेन्द्रकुमार श्रेष्ठ । उनले मेरो पीडा बुझे । यसरी नम्र रुपमा प्रस्तुत भए कि आफै सो सहकारी संस्थाको सञ्चालक रहेकोले जग्गा धितोमा राखेर २ करोड रुपैंया ऋण लिन आफूहरु तत्पर रहेको बताए । आर्थिक रुपमा जर्जर भइसकेको थियो मेरो अवस्था । उनको कुरा ठीक लाग्यो, अरु मुद्धा मामिला पर्ला, यो जग्गा नवीन बस्नेतको नाममा नामसारी भयो । मान्छेहरु बीचमा सम्बन्ध विश्वासमा अडिएको हुन्छ । त्यही विश्वासको जगमा जग्गा उनको नाममा नामसारी गरेको थिएँ । कागज पनि बनेन । वैंकसँग १ करोड ५० लाखमा काष्ठमण्डप बैंकसँग ७३ असोज १० गते मिलपात्र भयो । मैले आफैं १५ लाख तिरे र एक करोड ३५ लाख शैलेन्द्रकुमार श्रेष्ठको नामबाट जम्मा भयो । १० गते मिलापत्र सोही दिन म चितवन गएँ । त्यस्को भोलिपल्टै ११ गते बैंकको नामबाट सो जग्गा मेरो नाममा आयो । सो जग्गा सोही दिनको भोलिपल्ट नविन बस्नेतको नाममा कर्जा दिएबापत धितोको रुपमा नामसारी भयो । उनीहरुले जग्गा नामसारी गर्दा भनेका थिए, ‘तपाईंको जग्गा कहीं जाने होइन, रोक्का राख्दा मुद्दा मामिला पर्ला हामीसँग राख्दा सुरक्षित हुन्छ । तपार्इंले बेच्ने नै हो ।’ १ करोड ३९ लाख उनले त्यहाँ हाले । यसरी नविन बस्नेतहरुको जालझेलमा परी मेरो विल्लीवाँठ भयो । त्यहाँका कर्जा विभागका प्रमुख शैलेन्द्रकुमार श्रेष्ठहरुकै मिलेमतोमा फसाइयो ।

यो बीचमा मेरा छोरा चिरञ्जीविले सहकारीका सञ्चालकहरु नविन बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठसँग जग्गाको लागत मूल्य तिर्न तयार रहँदा समेत उनले जग्गा फिर्ता दिनुको सट्टा उल्टै धम्काउने थर्काउने गरे । उनीहरुले ५ करोड रुपैंया दिइस भने जग्गा फिर्ता गर्छु, होइन भने फोन सम्पर्क नगर भनेर धम्काउने गरेका छन् । यो मुद्धा अदालतमा बिचाराधिन छ । तारेख बुझ्न जाँदा समेत उल्टै तारेख लिन किन आइस भन्दै उनलाई धम्काउने गरेका छन ।

बिगत तीन वर्षदेखि यही मुद्धा लड्दै छु । यो मुद्धा अहिले अदालतमा चलिरहेको छ । जग्गा फिर्ता माग्दा उल्टै डनहरुको नाममा विक्री भइसकेको भन्छन् । त्यही सहकारीको कारण विशेष गरेर शैलेन्द्रकुमार श्रेष्ठहरुको योजनावद्ध हमलाको शिकार भए मँ । लुटिएँ, सकिएँ, बर्वाद भएँ । जीवनभरको कमाइ क्षणभरमा माटो भयो । शैलेन्द्रले सहकारीका आडमा म जस्ता धेरैलाई ठगेका छन । विल्लीवाँठ बनाएका छन । अझैं पनि आशा मरेको छैन । यही २४ गते जग्गा फुकुवा सम्बन्धी सुनुवाई हुँदैछ । आशा एवं विश्वास छ, नेपालमा अझै न्याय मरेको छैन् ।

हिजोको दिन सम्झदा भतभती छाती पोल्छ । पीडा हुन्छ । कुनैबेला चितवनमा गनिएको करोडपति म, सहकारी र बदमासहरुका कारण आज सडकमा आइपुगेको छु । अरुका घरमा भाडामा बस्ने अवस्थामा आइपुगेको छु । मेरो सोझो सिधापनाको फाइदा उठाएर मेरो र परिवारको बिल्लीवाँठ पार्ने ठग सहकारी सञ्चालकहरुलाई कारबाही होस । यो बीचमा मैले भोगेको मानसिक र शारीरिक यातनाको क्षतिपूर्ति मैले कहाँबाट कसरी पाउने ? अहिले यहीकारण मुटुको रोगी बन्न पुगेको छु । सो सहकारीका कारण म मात्र होइन्, धेरै उद्यमी व्यवसायी यसैगरी लुटिएका छन । तीनको खुसी खोसिएको छ । यस्ता फटाहा सहकारी सञ्चालकलाई यथाशीघ्र कानुनी कठघारामा उभ्याइयोस ।

जय अम्बे सहकारी पीडित टंकप्रसाद खरेल, हालः भैरहवा