मन्त्री पद नपाएको भन्दै मलाई जोडेर गलत प्रचार गरिएको चीनकाजी आरोप

Posted on: July 31, 2017 | views: 264

काठमाडौँ  । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले मन्त्रीपरिषद् विस्तारलाई लिएर पछिल्लो समय छापा तथा अनलाइन मिडियाहरुमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सोमबार विज्ञप्ति नै जारी गर्दै यसमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका हुन् ।

‘मन्त्री छान्दा भद्रगोल शैली, पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको जस्ता शीर्षकहरुमा प्रकाशित समाचारहरुमा मेरो नाम जोडेर अनर्गल प्रचारप्रसार भइरहेकोमा मेरो आपत्ति छ । र, यो खबरहरुको म खण्डन गर्न चाहन्छु,’ उनले जारी रहेको विज्ञप्तिमा भनिएको छ ।

आफू पार्टीको मुख्य सचेतक जस्तो जिम्मेवार पदमा रहेर पार्टीको नीति र निर्देशन अनुसार काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने उनले बताएका छन् । 

‘पार्टी सभापति श्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पछिल्लो पटक मन्त्रीपरिषद विस्तारको क्रममा मेरो बारेमा पनि छलफल भएको सुनेको हुँ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, पार्टीले राम्रा र योग्य साथीहरुलाई सरकारमा पठाएको छ, यसमा मेरो कुनै गुनासो छैन । म पार्टीको नीति र निर्देशनलाई सँधै सिरोधार्य गर्दछु ।’

उनले मन्त्रीपरिषद विस्तारमा को प¥यो वा को परेन भन्ने मूख्य विषय नभएको बताउँदै पार्टी नेतृत्वले मधेसी, महिला, दलित, पीछडिएको क्षेत्रका माननीय सांसदहरुलाई समावेश गर्ने सक्दो प्रयास भएको आफूले ठानेको बताएका छन् । 

‘समावेशी सिद्धान्तका आधारमा नयाँ अनुहारका साथीहरु सरकारमा समावेश गरिनु भएकोछ । यो अत्यन्त उदाहरणीय र सराहनीय छ,’ उनले भनेका छन् ।